: आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ मा नेपालले पहिलो जित दर्ता गरेको छ। रावाण्डा क्रिकेट स्टेडियममा इटालीलाई ५० रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा ६२ रन बनाउँदै अल आउट भयो।
इटालीका लागि चतुरीका महामालागेले २२ रन बनाउँदा पसिन्डी कानाङकेगेले १२ रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले ४ विकेट लिइन्। कविता कुँवरले २ विकेट लिँदा मनिषा उपाध्याय रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रनको पारी खेलिन्। उनले ४५ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्।
ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले क्रमशः १५ र १६ रन बनाए। कप्तान इन्दु बर्माले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। इटालीका लागि कप्तान इमिलिया बाट्रामले सर्वाधिक तीन विकेट लिइन्। चतुरीका महामालागे, पसिन्डी कानाङकेगे, इलिनिया सिम्स एलेक्सिया कोन्टोपिराकिस र कुमुदु प्याट्रिकले १-१ विकेट लिए।
नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।