: सुनसरीको धरानबाट गाँजा तस्करीमा संलग्न तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१३ आँपगाछीस्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा ५९ केजी गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबुराईले जानकारी दिए। इप्रका धरानबाट प्रहरी निरीक्षक अमरदिप भण्डारीको कमाण्ड तथा अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो गाडीलाई शंका लागेर चेकजाँच गर्दा सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको हो। प्रहरीले गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको डीएसपी राईले बताए। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यस्थित सुपौल जिल्लाका २२ वर्षीय चालक सुबिध कुमार, सोही स्थानका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ बस्ने ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इप्रका धरानमा राखिएको छ।
पछिल्लो समय धनकुटा क्षेत्रमा उत्पादन हुने गाँजा तस्करहरूले मुलघाट, भेडेटार हुँदै धरानको बाटो प्रयोग गरेर सुनसरी र मोरङका विभिन्न नाकाबाट भारततर्फ तस्करी गर्ने गरेको देखिएको छ। प्रहरीले यस किसिमका अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।