: प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी हुनेछन्।
गत चैत २० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूबीच भएको राजनीतिक दलका विद्यार्थी संगठनका कार्यालय हटाउने निर्णय गरेको थियो। बैठकको निर्णयअनुसार अब विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनका लागि कुनै पनि कोठा, भवन वा जमिन उपलब्ध गराउने छैनन् । निर्णयअनुसार विश्वविद्यालय परिसरभित्र विद्यार्थी संगठनका ब्यानर, झन्डा र भित्ते लेखनलगायतका भौतिक संकेतहरू तत्काल हटाइनेछ । यदि विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी कुनै कानुनी व्यवस्था भए ती नियमहरू खारेजीका लागि तत्काल आयोगमार्फत मन्त्रालयमा प्रस्ताव पेस गरिने निर्णय भएको छ।
विद्यार्थी संगठन हटाएपछि सुरक्षा युनिटको आडमा प्रशासनले विद्यार्थीका जायज मागहरू दबाउन सक्ने जोखिम रहेको भन्दै यसको विरोध पनि सुरु भएको छ ।