: झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगरको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गौरादह नगरपालिका -१ स्थित सितापुरी चोकमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक दमक-९ का ३३ वर्षीय दिपबहादुर मगरलाई सामान्य चोट मात्र लागेको थियो।
गम्भीर घाइते भएका पदमबहादुरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँबाट उनलाई राति १०:१० बजे विराटनगरको नोबेल अस्पताल रेफर गरिएको थियो । उनको आज बिहान ३:४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।