: शिकारका क्रममा जंगलमा गोली चल्दा एक किशोरको ज्यान गएको छ भने किशोरी घाइते भएकी छिन् । गौमुखी गाउँपालिका सुङगुरखाल पुजास्थित चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर घाइते भएका किशोरको उपचारको क्रममा ज्यान गएको हो ।
nullनौबहिनी गाउँपालिकाका १९ वर्षीय सुशील परियारमाथि चैत्र २९ गते राति करिव १०ः४५ बजेको समयमा गोली लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गोली लाग्दा घाइते भएका परियारको उपचारका क्रममा चैत्र ३० गते बुटवलमा मृत्यु भएको प्यूठान प्रहरी निमित्त प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।
मृतक परियार आफ्ना साथी सन्जु परियार भनिने दुर्जे दमाईसँग साढे तीन घण्टाको पैदलयात्रा नौबहिनी गाउँपालिका–४ खवाङबाट गौमुखी गाउँपालिकाको वाग्लिवाङ केटी साथी भेट्न गएका थिए । घटनामा गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी घाइते छिन् । उनको लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार भइरहेको छ । किशोरीको अवस्था भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
गौमुखी गाउँपालिका–४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनाको समूह शिकार खेल्न जंगल गएका थिए । जंगली जनावर बँदेल ठानेर गोली प्रहार गर्दा घटना भएको हो । गोली चलाउने केसी र उनीसँगै शिकार खेल्न गएका २२ वर्षीय बिश्वास केसी, १९ वर्षीय वबि केसी, १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । दुई थान भरूवा बन्दुक पनि बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान सम्बन्धि मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।