: काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका एक जना कैदी विराटनगरमा शनिबार पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१५ का ५२ वर्षीय अरुण थापालाई विराटनगर–३ फुटबल चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार थापा केन्द्रीय कारागार जगन्नाथदेवलमा लागुऔषध सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उत्पन्न परिस्थितिको मौका छोपी उनी कारागारबाट फरार भए।
जिल्ला अदालत काठमाडौंले २०७६ साल फागुन २२ गते उनलाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय र ५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। कारागारबाट भागेपछि थापा केही समयदेखि विराटनगरमै लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि थापालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरिनेछ। अदालतले कैद सजाय भुक्तानका लागि पुनः कारागार चलान गर्नेछ।