मुख्य समाचार
युद्धसम्बन्धी भ्रामक भिडियो बनाउने ११ नेपाली पक्राउ
युद्धसम्बन्धी भ्रामक भिडियो बनाउने ११ नेपाली पक्राउ

: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो।

त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित बुर्ज खलिफा आसपास खसेको मिसाइलको भिडियो एक नेपालीले सामाजिक सञ्जालमा पोस्ट गरे। उक्त भिडियोले पनि जनमानसमा ठूलो त्रास पैदा गरिदियो। भिडियो खिचेर पोस्ट गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गर्‍यो । अबुधाबीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार दुई दिनको सोधपुछ र प्रक्रियापछि उनलाई रिहा गरियो।

यी दुई घटनाको प्रभावले नेपालमा रहेक श्रमिकका परिवारसमेत त्रसित बने। दक्षिण–पश्चिम एसियामा रहेका नेपालीबाटै फेसबुक र टिकटकलगायत प्लेटफर्ममा मिसाइल खस्दै गरेका र मानिस आत्तिएका भिडियोहरू जताततै फैलिन थाले। त्यसपछि यूएईस्थित नेपाली दूतावासले विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गर्‍यो ।


दूतावासले ‘एड्भाइजरी’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको थियो। पछिल्लो समय सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई सचेत गराइएको छ। परिस्थितिसँग सम्बन्धित फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा जिम्मेवार बन्न दूतावासले पटक–पटक अपिल गरेको छ। यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिरहेका छन्। दुबई प्रहरीले सुरुवाती चरणमा सम्झाउँदै भिडियो नखिच्न र पोस्ट नगर्न सूचना तथा प्रत्यक्ष भेटघाटमार्फत जानकारी दिएको थियो।

त्यहाँ रहेका नेपालीलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन दूतावासले सजग गराउँदै आएको छ। दूतावासले विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट तथा सूचनाहरू हेर्न अनुरोध गरेको छ।

यूएईका सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न आग्रह गर्दागर्दै पनि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकमा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
द्वन्द्वग्रस्त पश्चिम एसियाली देशहरूले सुरुवातदेखि नै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो पोस्ट गर्नेहरूमाथि कडाइ गर्दै आएका थिए। सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई पक्राउ गर्नेदेखि देश निकाला गर्नेसम्मका कारबाही हुने चेतावनी ती देशले पटक–पटक दिँदै आएका छन्।

सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनले भने, ‘पक्राउ पर्नेहरूको व्यक्तिगत गोपनीयताका कारण बाँकी सूचना दिन मिल्दैन। अहिले राजदूतावास र नियोगहरूले उहाँहरूलाई कानुनी प्रक्रियाका लागि आवश्यक सहयोग गरिरहनुभएको छ।’
इजरायल–अमेरिका र इरानबीचको तनावपछि इरानले खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ। त्यही आक्रमणको क्रममा देखिएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो वा भिडियो खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा गलत अफवाह फैलाउने गरेको अभियोगमा उनीहरू पक्राउ परेको मन्त्रालयले जनाएको छ।

पक्राउ परेका नेपालीहरूको हकमा सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले सहजीकरण गरिरहेका छन्। उनीहरूमाथि लागेको आरोप र जरिवानाका विषयमा जानकारी लिने काम भइरहेको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए।

परराष्ट्र मन्त्रालयका अनुसार १० वटै नियोगहरूमा ‘हटलाइन’ व्यवस्था गरिएको छ, जहाँबाट समस्यामा परेका नेपालीहरूको विवरण लिने र समन्वय गर्ने कार्य जारी छ। प्रवक्ताका अनुसार कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन फाराम भर्नेहरूको संख्या हाल ८७,५७७ पुगेको छ। हाल कन्ट्रोल रुम, विभागको दर्ता प्रणाली र नियोगहरूमा विभिन्न माध्यमबाट सम्पर्क गर्ने नेपालीको संख्या भने क्रमशः न्यून हुँदै गएको उनले उल्लेख गरे।

नेपाली अलपत्र छैनन्ः परराष्ट्र मन्त्रालय

पश्चिम एसियामा बढ्दो क्षेत्रीय तनाव र द्वन्द्वका बाबजुद त्यस क्षेत्रमा रहेका नेपाली अलपत्र अवस्थामा छैनन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार सम्बन्धित देशका नेपाली नियोगहरू र मन्त्रालयको हटलाइनमा अलपत्र परेको कुनै पनि आधिकारिक उजुरी वा जानकारी प्राप्त भएको छैन।

पछिल्ला दिनहरूमा पश्चिम एसियाको आकाश केही हदसम्म खुला हुन थालेपछि हवाई उडान नियमित अवस्थामा फर्किएका छन्। यसले गर्दा स्वदेश फर्किन चाहनेहरूले सहजै टिकट लिएर आउन सक्नेछन्। परराष्ट्रमन्त्रीको पहलमा नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले उडान सुचारु गरेसँगै अवस्था सहज भएको हो। प्रवक्ता क्षेत्रीले भने, ‘हालसम्म धेरै उडान तालिकाहरू तय भइसकेका कारण अब नेपाली पश्चिम एसियामा अलपत्र पर्नुपर्ने अवस्था छैन।’

द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई लिएर सरकारले निरन्तर अनुगमन गरिरहेको पनि मन्त्रालयले जनाएको छ। हवाईमार्ग सुरक्षित देखिन थालेपछि उडानहरूको संख्या थपिँदै गएको छ, जसले नेपाल आउने यात्रुहरूलाई थप राहत मिलेको छ।

पश्चिम एसियाली देशमा २८ नेपाली घाइते

इजरायल–अमेरिका तथा इरानबीचको द्वन्द्वका कारण पश्चिम एसियाली देशहरूमा हालसम्म २८ जना नेपाली घाइते भएका छन्। यूएई, इराक र ओमानमा गरी हालसम्म २८ जना घाइते भएको र तीमध्ये २७ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पछिल्ला १० दिनमा यूएईमा मिसाइलको भग्नावशेष लागेर थप ८ जना नेपाली घाइते भएका थिए। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले घाइतेमध्ये २७ जना सामान्य उपचारपछि काममा फर्किएको बताए। एक जनाको हातमा चोट लागेकाले उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

घाइते हुनेहरूमा २५ जना यूएईमा, २ जना इराकमा र १ जना ओमानमा रहेका छन्। इरानले पश्चिम एसियामा रहेका यूएई, कतार, ओमान, बहराइनलगायत देशमा रहेका अमेरिकी सैन्य आधार क्षेत्र (बेस क्याम्प) मा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो। तिनै ड्रोन तथा क्षेप्यास्त्रका अवशेष लागेर ती नेपाली घाइते भएका हुन्। गत अप्रिल ३ मा यूएईको अबुधाबीको अवजान क्षेत्रमा ७ जना घाइते भएका थिए। ड्रोन आक्रमणमै परी मार्च २ मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...