: निर्माण सामग्री आयातमा ढिलाइ भएपछि रसुवागढी नाका जोड्ने स्याफ्रु-रसुवागढी सडकको स्तरोन्नति रोकिएको छ।
सडक निर्माणका लागि आवश्यक सामग्री समयमै ढुवानी गर्न नसक्दा स्तरोन्नतिको काम रोकिएको हो। चीन सरकारको अनुदान सहयोगमा अप्रिल १ देखि चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्टको काम अघि बढेको थियो।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी रसुवागढी सडक योजनाका अनुसार रसुवागढी नाकामा रहेको पुलको क्षमता कम भएको, ढुवानीका साधनहरू पुल पार गर्नका लागि लामो समय पर्खनु परेको र निर्माणस्थलमा सामग्री आइपुग्न ढिलाइ भएपछि तोकिएको कार्य तालिका अनुसार निर्माण कार्य अघि बढ्न नसकेको हो।
यस सडक खण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार सिजाङ थियनलुले विभिन्न कारण देखाएर बुधबार स्तरोन्नतिको काम अघि बढ्न नसकेको जानकारी गराएको थियो। सडक स्तरोन्नति रोकिएसँगै १५ दिनका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको छ।
स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउने छ।
२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ का कारण काम पछि धकेलिएको थियो।