मुख्य समाचार
नेपाली कांग्रेसले संविधान संशोधन कार्यदलका विषयमा पार्टीको धारणा सार्वजनिक
नेपाली कांग्रेसले संविधान संशोधन कार्यदलका विषयमा पार्टीको धारणा सार्वजनिक

: नेपाली कांग्रेसले संविधान संशोधन कार्यदलका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा चार शर्तसहित पार्टीको धारणा सार्वजनिक गरेको हो । संविधान संशोधनपूर्व व्यापक छलफल र सहमति आवश्यक भएकाले सरकारले यस विषयलाई प्राथमिकतामा दिएको कुरालाई कांग्रेस स्वागत गर्ने जनाएको छ ।

२०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान नेपाली जनताले २००७ सालको जनक्रान्ति अघिदेखि विभिन्न संघर्ष, आन्दोलन र संविधानसभामार्फत नै संविधान निर्माण गर्ने जनआकांक्षा र मागलाई सम्बोधन गर्ने अनवरत प्रयासको ऐतिहासिक उपलब्धि रहेको पनि कांग्रेसले जनाएको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पहिचानका लागि उठेका विभिन्न समुदाय र क्षेत्रका आन्दोलन र समूहबीच तत्कालीन परिस्थितिमा भएको सहमतिका आधारमा एक सम्झौताको दस्तावेजको रूपमा नेपालको संविधानलाई मूर्तरूप प्रदान गरिएको कुरालाई कांग्रेसले गौरवपूर्ण रुपमा स्मरण गर्ने समेत जनाएको छ ।



संविधानसभामार्फत नेपालको संविधान जारी भएको १० वर्ष पुगेको जनाउँदै कांग्रेसले संविधान स्वयंले पनि आफैभित्र पुनरावलोकनको परिकल्पना गरेको उल्लेख गरेको छ । संविधान एक गतिशील र परिवर्तनशील दस्तावेज भएकाले नागरिकको भावना र आवश्यकताअनुसार यसलाई समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक गर्दै लैजानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको कांग्रेसले बताएको छ ।

नेपाली कांग्रेस संविधानले अङ्गीकार गरेका लोकतन्त्र, नेपाल राज्यको विशेषताहरू, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानवअधिकार लगायतका सारभूत मूल्य–मान्यतामा कुनै पनि सम्झौता नगरी र संकुचित नहुने गरी यसलाई अझ सुदृढ बनाउनु पर्छ भन्ने मान्यता राख्ने समेत बताइएको छ ।

अतः लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी र अधिकारसम्पन्न बनाउन, र यसको गतिशील कार्यान्वयन एवं सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि कतिपय विषयमा संशोधन आवश्यक छ भन्नेमा पनि प्रष्ट रहेको जनाउँदै सरकारको यस प्रयासमा कांग्रेसले साथ र सहकार्य गर्ने बताइएको छ ।

यद्यपि, यस कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि मनोनयन गर्नु अगाडि कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुन आवश्यक देखिएको जनाएको छ । यो स्पष्टताले कार्यदललाई नै आफ्नो कार्यसम्पादन गर्न मद्दत पुग्ने र संविधान संशोधनका सन्दर्भमा थप प्रष्टता एवं अपनत्व बढ्ने कांग्रेसले जनाएको छ ।

यी हुन् कांग्रेसका चार शर्त
१. हामीलाई प्राप्त पत्रमा उल्लेख भए अनुसार यस कार्यदलको काम बहसपत्र तयार गर्ने भनिएको छ । तर पत्रमा कार्यदलको क्षेत्राधिकार, सीमा र भूमिकाबारे स्पष्ट उल्लेख नगरिएको हुँदा कार्यदलको विधि र कार्यक्षेत्रका सन्दर्भमा हामी स्पष्ट हुन चाहन्छौं ।

२. सशस्त्र द्वन्द्व पश्चात संक्रमणकालको कठिन परिस्थितिबाट यो संविधान निर्माण भएको थियो । त्यसपछि पनि संविधानमाथि आम अपनत्व र स्वामित्व स्थापित गर्न विभिन्न समयमा पहिचान लगायतका अधिकारका आन्दोलन र समूहसँग राज्यले गरेका सम्झौता विषयलाई पनि स्मरणमा राख्नु पर्दछ । संविधान संशोधन आफैमा संवेदनशील विषय भएकोले नेपाल सरकारले यो पहल लिँदा सुरुवातदेखि नै यसको वहसलाई सहभागितामूलक, समावेशी र न्यायपूर्ण बनाउने सन्दर्भमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्दछ ।

३. संविधान संशोधनको बहसमा संघीय संसदमा प्रतिनिधित्व गर्ने बाहेकका राजनीतिक दलहरूसँगको सम्बन्ध एवं समन्वयका विषयमा समेत वर्तमान सरकार स्पष्ट हुनु आवश्यक देखिन्छ । यस सन्दर्भमा खासगरी संविधान निर्माणका महत्वपूर्ण सरोकारवाला पक्ष मधेशी, आदिवासी–जनजाति, थारू, दलित, अल्पसंख्यक लगायत पहिचानका लागि आन्दोलनरत समुदाय र क्षेत्रलाई प्रक्रियामा जोड्न सरकारले के आधार लिएको छ र संविधान कार्यान्यनसँग जोडिएका प्रदेश र स्थानीय सरकारको सहभागिताको विषयमा सरकारको धारणा के छ स्पष्ट हुनुपर्छ ।

४. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको नेतृत्वमा सरकार गठन भएको छ । वर्तमान संविधान, संविधानले अंगीकार गरेको आधारभूत मूल्य–मान्यता र संशोधन गर्ने प्रस्तावित विषयप्रति नेपाल सरकार र सरकारको नेतृत्वकर्ता दलको प्रतिबद्धता एवं धारणा प्रष्ट रूपमा आउन आवश्यक छ । सरकार र नेतृत्वकर्ता दलको प्रतिवद्धता र बहसपत्रको तयारीका निमित्त संशोधनका प्राथमिकताका विषयमा स्पष्ट धारणा आयो भने कार्यदलको भूमिका र उपस्थिति थप प्रभावकारी हुन सक्दछ ।

अतः नेपाल सरकारले संविधान संशोधन बहसपत्र तयार गर्नुको सान्दर्भिकता, यसको विधि, क्षेत्राधिकार र सीमा, यसले हासिल गर्न खोजेको राजनीतिक र संवैधानिक लक्ष्य र संविधानका आधारभूत विषयवस्तु एवं संशोधनका प्रावधानहरूका बारेमा आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरी स्पष्ट हुन सकेमा संविधान संशोधन जस्तो संवेदनशील विषयमा बहसपत्र तयार गर्ने कार्यदलमा पार्टीको सहभागिता सार्थक हुन्छ र आम अपनत्व पनि हुन्छ भन्नेमा नेपाली कांग्रेसको विश्वास रहेको छ । सरकारको यस प्रयासमा कांग्रेसको साथ र सहयोग रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण प्रभावकारी बनाउन ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ जारी गरेको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस निर्देशिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । कानुन, ...
। प्रधानमन्त्री बालेन शाहले नेपालले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगकमा प्रमुखहरूलाई सरकारको प्राथमकिताबारे जानकारी दिएका छन् । सन्तुलित र व्यावहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने उल्लेख गर्दे १२ वटा सन्देश स्पष्ट रूपमा देखिएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर ...
। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी शुक्रबार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । निर्वाचन पछाडिको संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।
। आर्थिक कठिनाइविना सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमले १० वर्ष पूरा गरेको छ । तर यो दशकको अवधिमा यो कार्यक्रमले लक्षित सबै नागरिकलाई समेट्न सकेको छैन, भने स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापना गर्ने लक्ष्य अझै अधुरै छ । नागरिकलाई उपचार खर्चबाट राहत दिन सुरु गरिएको कार्यक्रममै नवीकरण दर ...
: राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । संघीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज उनीहरूलाई शपथ गराएका हुन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन ...