: पुतलीबजार नगरपालिका सहित सिद्धार्थ राजमार्गमा पर्ने स्थानीय पालिकामा सवारी साधन पार्किङलाई एकीकृत एवं व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल भएको छ। छलफलले गरेको ४ बुँदे निर्णय कार्यान्वयन भने आउँदो वैशाख १ देखि हुने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा जिल्ला प्रहरी र ट्राफिक कार्यालय, पुतलीबजार नगरपालिका सहित वडा नं. १ को कार्यालय, यातायात शाखा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नागरिक समाज, पत्रकार तथा यातायात व्यवसायी सम्मिलित बैठकले तोकिएको स्थान बाहेक जथाभावी पार्किङ नगर्न–नगराउन सूचित गराएको छ।
स्याङ्जा जिल्लाको मध्यभाग हुँदै बनेको सिद्धार्थ राजमार्गमा फेदीखोला गाउँपालिका सहित पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका पर्दछन्। पोखरा–सुनौली सिद्धार्थ राजमार्गको ८२ किलोमिटर स्याङ्जा खण्डमा पर्दछ।
राजमार्गका लागि आवश्यक मापदण्ड नपुगेको, घुम्ती नै घुम्ती भएको स्याङ्जा खण्ड साँघुरो छ। सवारी साधन जथाभावी पार्किङ गर्दा हुन सक्ने दुर्घटना वा जोखिम घटाउन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सवारी साधनलाई एकीकृत पार्किङमा ल्याउने छलफललाई अगाडि बढाएका हुन्।
प्रजिअ अर्यालका अनुसार, ‘पुतलीबजार नगरपालिका क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनहरू मुख्य राजमार्गमा पार्किङ गर्न पाइने छैन। सार्वजनिक भाडाका सवारी साधन (बस, ट्रक, स्कुल बस, ट्रिपर, ट्र्याक्टर, मिनी बस, माइक्रोबस, हायस, पिकअपभन्दा ठूला सवारी साधन) लाई बसपार्कमा पार्किङ गर्न भनिएको छ।
पिकअप र पिकअपभन्दा साना भाडाका सार्वजनिक सवारी साधन (ट्याक्सी, अटो रिक्सा) पुतलीबजार नगरपालिका वडा नं. १ को बसपार्कको तल्लो खण्डमा रहेको खुला स्थानमा पार्किङ गर्नुपर्ने भएको छ।
ट्याक्सीका लागि भने ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री बाटोमा बढीमा २ वटा ट्याक्सी स्ट्यान्डमा राख्ने, अन्यले बसपार्कमा पार्किङ गर्ने, पिकअप वा सोभन्दा ठूला सवारी साधन मुख्य राजमार्गमा सवारी होल्ड गर्न नपाइने भनिएको छ।’
त्यसैगरी, चढाउन र ओराल्नका लागि पनि निश्चित स्थान निर्धारण गरिएका छन्। यात्रु ओराल्ने-चढाउने कार्यका लागि पुतलीबजार-३ को बाडखोलाचोक, प्रगतिनगर नगरपालिका कार्यालय जाने चोक, घुम्तीचोकको प्रतीक्षालय, ट्याक्सी चोक र राङ्खोला स्थित बिरुवा चोकमा व्यवस्था गरिएको छ।
राजमार्गका अन्य बजार क्षेत्र (फेदीखोला, हेलु, बयरघारी, मिर्दी, वालिङ, गल्याङ, राम्दी) मा भने सवारी साधनको पार्किङ तथा यात्रु चढ्ने–ओराल्ने कार्यका लागि सम्बन्धित पालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले समन्वय गरी स्थान पहिचान गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा जानकारी गराउने जिम्मेवारी तोकिएको छ।
यसैगरी, मोटरसाइकल पार्किङ नगरपालिकाको भित्री सडकमा गर्नुपर्ने, मुख्य राजमार्ग तथा भित्री सडक पेटीमा फुटपाथ पसल, अवैध संरचना तथा निर्माण सामग्री राख्न नपाइने भनिएको छ। फुटपाथमा कुनै पनि सवारी साधन पार्किङ नगर्न सूचित गराइएको छ।