: मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित बिराबगर विद्युत् आयोजना अन्ततः निर्माण सम्पन्नतर्फ पुगेसँगै स्थानीय बासिन्दाले अब नियमित रूपमा विद्युत् उपभोग गर्न पाउने भएका छन्। करिब ६ वर्षअघि सुरु भएको यो आयोजना अनेकौं चुनौती पार गर्दै अन्तिम चरणमा पुगेको हो।
कोभिड–१९ र २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले आयोजनाका नहर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। ती अवरोधका कारण लामो समयसम्म स्थानीयले विद्युत् उत्पादन हुने आशा लगभग त्यागिसकेका थिए। तर अहिले अवस्था फेरिएको छ—विद्युत् उत्पादन सुरु भइसकेको छ, गाउँगाउँमा लाइन विस्तार भइरहेको छ, र घरघरमा वायरिङको काम तीव्र रूपमा अघि बढेको छ। यसले स्थानीयमा नयाँ उत्साह र खुशी ल्याएको छ।
१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना विभिन्न विपत्तिका कारण ढिलाइ भए पनि हाल करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। एशियाली विकास बैंकको करिब २६ करोड रुपैयाँ अनुदान, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग तथा सिर्जनशील सहकारी संस्थाको अग्रसरतामा निर्माण गरिएको ५सय किलोवाट क्षमताको यस आयोजनाबाट खत्याड क्षेत्रका करिब २ हजार ६ सय घरधुरी तथा छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका करिब १ हजार २ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, उत्पादन भएको अतिरिक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारी पनि भइरहेको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिएका छन्।
विभिन्न अवरोधका कारण लामो समयसम्म स्थानीयले विद्युत् उत्पादन हुने आशा लगभग त्यागिसकेका थिए।
अहिले अवस्था फेरिएको छ, विद्युत् उत्पादन सुरु भइसकेको छ, गाउँगाउँमा लाइन विस्तार भइरहेको छ, र घरघरमा वायरिङको काम तीव्र रूपमा अघि बढेको छ।
निर्माणको जिम्मा पाएको मेघा फेवा जेभी निर्माण सेवाले सिभिल कार्यसहित अधिकांश काम पूरा गरिसकेको छ। मुख्य विद्युत् लाइन सबै गाउँसम्म पुगिसकेको छ भने घरघरमा वायरिङ गर्ने काम जारी छ। आयोजनाका सिभिल इन्जिनियर गजेन्द्र बमका अनुसार अब एक–दुई महिनाभित्र सबै घरधुरीमा विद्युत् सेवा पुग्नेछ। जसले वायरिङ गरिसकेका छन्, उनीहरूले अहिले नै विद्युत् प्रयोग गर्न थालेका छन्।
खत्याड गाउँपालिका—११ का स्थानीय बलिचन्द्र रावत भन्छन्,पहिला हामीले दियो–बत्तीको भरमा रात काट्थ्यौं। बालबालिकाको पढाइ, घरको काम सबै प्रभावित हुन्थ्यो। अहिले घरमै बिजुली बल्न थालेपछि जीवन नै फेरिएको महसुस भएको छ। त्यस्तै, स्थानीय महिला माया विक खुसी व्यक्त गर्दै भनिन् बजुली आएपछि हामीलाई धेरै सजिलो भएको छ। खाना पकाउने, बालबालिकाको पढाइ र दैनिक काम सबै सहज भएको छ। अब त हाम्रो गाउँ पनि सहर जस्तै उज्यालो हुने भएको छ।
बिराबगर विद्युत् आयोजना सम्पन्नतर्फ उन्मुख भएसँगै खत्याड क्षेत्रका बासिन्दामा उज्यालोसँगै विकासको नयाँ आशा पलाएको छ। गाउँगाउँमा फैलिएको यो उज्यालोले अब शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा समेत सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको स्थानीयहरूको भनाइ रहेको छ।