। जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा पार्टी एकीकरणको घोषणापत्रमा पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्वसांसद रेशम चौधरी पक्राउ परेका थिए ।
अदालतमा विचाराधिन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैरकानूनी भएको निक्यौल हुनासाथ केही घण्टामै चौधरी रिहा भए । र, पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ परेका थिए ।
कारागार र प्रहरीमा तत्काल अर्को पत्र पठाएर सर्वोच्चले रेशम चौधरीलाई रिहा हुने बाटो पनि खोलिदिएको थियो ।