। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल व्यस्थापिकाको सर्वोच्च पद सभामुख बनेका छन् । राज्यका निकायमा पदीय जिम्मेवारी बहन गर्ने व्यक्तिहरूको मर्यादा क्रममा अब अर्याल पाँचौ स्थानमा हुनेछन् ।
अर्याललाई रास्वपाले सभामुखमा प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाको आइतबारको बैठकले सर्वसम्मत स्वीकृत गर्यो । संसद्को सभामुख पदलाई साझा व्यक्तिको रुपमा राख्ने अभ्यास अनुसार अन्य कुनै दलले उम्मेदवारी दिएनन् । त्यसैले उनी निर्विरोध भए ।
प्रतिनिधिसभामा १८२ सिट रहेको रास्वपाबाट अर्याल सभामुखको उम्मेदवार बन्ने भएपछि अन्य दलले पनि समर्थन गरे ।
रास्वपा नेताहरूका अनुसार नयाँ सरकारको मन्त्रिपरिषद् गठन गर्ने क्रममा उनले गृहमन्त्री पदमा इच्छा देखाएका थिए । सुधन गुरुङलाई गृहमन्त्री बनाउने निश्चित भएसँगै उपसभापति अर्याललाई सभामुख बनाउने निर्णयमा रास्वपा पुगेको थियो ।
सभापति रवि लामिछानेको ‘विश्वासपात्र’को पहिचान बनाएका अर्याल रास्वपा गठन हुनु अघिदेखि नै रविसँग निकट थिए । उनलाई रास्वपाले अब सदनको मूल नेताको रुपमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने जिम्मेवारीमा पठाएको छ ।
अघिल्लो संसद्मा समानुपातिक सांसद बनेका अर्याल रास्वपा सरकारमा सहभागी हुँदा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।
रवि जेल पर्दा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका अर्यालले यस पटक काठमाडौं-९ बाट फराकिलो मतान्तरले जितेका थिए ।
रवि लामिछानेको अंगालोमा डीपी अर्याल
उनको समन्वयात्मक क्षमता रहेको भन्दै रास्वपाका उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी दिनमा समन्वयातमक क्षमता अब सदनमा प्रदर्शन हुने बताए ।
अर्याल २०७९ असार ७ गते रास्वपा गठन भएसँगै राजनीतिमा क्रियाशील भएका थिए । पार्टी गठन भएकै महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता हुँदा अर्यालको नाम केन्द्रीय सदस्यहरूको सूचीमा तेस्रो स्थानमा राखिएको थियो ।
जलेश्वर बैठकबाट उपसभापतिमा डा. स्वर्णिम वाग्ले थपिनुअघि अर्याल एकल उपसभापति थिए । अर्याल रास्वपाको प्रवास विभागको प्रमुखको जिम्मेवारीमा समेत थिए ।
सभापति रवि टेलिभिजन प्रस्तोता रहेकै बेला अर्याल इजिलिंक रेमिट्यान्समा आवद्ध थिए । त्यतिबेलादेखि नै रवि र अर्यालबीच निकटता बढेको थियो । अर्यालले उक्त रेमिट्यान्स कम्पनीको ब्रान्ड एम्बेस्डर रविलाई बनाएका थिए ।
अर्यालले २०५३ सालमा रोजगारीका लागि जापान पुगेर रेन्टुरेन्ट व्यवसायसमेत गरेका थिए । ५१ वर्षअघि धादिङ जिल्लाको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा जन्मेका उनी हाल काठमाडौं महानगरपालिका विनायक बस्तीमा बसोबास गर्दै आएका छन् ।
उनी पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी, रेमिटेन्स लगायतका क्षेत्रमा सक्रिय थिए । सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्समा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा काम गरेको उनको अनुभव छ ।
वैकल्पिक राजनीति, सुशासन, रोजगारी सिर्जना र श्रमिकमैत्री नीतिलाई चुनावी एजेन्डा बनाएका उनले काठमाडौं–९ मा अन्य प्रतिस्पर्धीलाई धेरै पछि पारेर जित निकालेका थिए ।
अब प्रतिनिधिसभाको सर्वोच्च र साझा व्यक्तिको भूमिकाबाट अर्यालले निष्पक्षता कायम गर्नु पर्नेछ । संसद्को कार्यव्यवस्था बैठक बोलाउने जिम्मेवारी सभामुखलाई हुन्छ । संसदीय समिति गठन गर्नका लागि उनले भूमिका खेल्नुपर्ने हुन्छ । संसद् सचिवालयको प्रशासनिक कार्य समेत उनको काम, कर्तव्य, अधिकारअन्तर्गत पर्छ ।
साधारणतयाः सदनमा सभामुखलाई मतदानको अधिकार हुँदैन । कुनै विषयमा मतदान हुँदा बराबर मत खसेको अवस्थामा भने सभामुखलाई मतदानको अधिकार हुन्छ ।