। प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै अघि बढेको बताएका छन् । आइतबार बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनालाई वर्तमान र भविष्यका चुनौतीको सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व रहेको पनि बताए ।
उनले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।
हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भइरहेको पनि उनले बताए ।
‘हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास साक्षी छ’, उनले भने, ‘सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।’