— राप्ती गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालिकासहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान राप्ती गाउँपालिका–२ निवासी १६ बर्षीय आयुष्मान थापा मगर शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भई गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहँदा उनीसँगै रहेका साथी स्मित प्रधान सम्पर्कविहीन भएको भन्दै आयुष्मानकी दिदी रमिता खाम्चा मगरले प्रहरीलाई खबर गरेकी थिइन् ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको कमाण्डमा खटिएको टोलीले खोजी सुरु गरेको थियो । खोजीका क्रममा शुक्रबार दिउँसो १२ः०० बजे राप्ती गाउँपालिका–४ मौरिघाटस्थित दोलाई खोलाको पक्की नालामा १६ वर्षीय स्मित प्रधानको शव फेला परेको थियो ।
उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
घटनापछि फरार रहेका तीन जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–८ घर भई हाल राप्ती–४ बस्ने २० वर्षीय सन्दीप वली, राप्ती–४ मौरिघाटका १८ वर्षीय निश्चल चौधरी र एक बालिका छन् । एक किशोरीले भेट्न बोलाएर उनीहरुलाई बीच बाटोमा आक्रमण गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे बिस्तृत अनुसन्धान भैरहेको प्रहरी निरिक्षक बस्नेतले बताए ।
आक्रमणबाट गम्भीर घाइते भएका थापा मगरलाई सिसहनियामा प्राथमिक उपचारपछि थप उपचारका लागि शुक्रबार राति भैरहवा मेडिकल कलेज लगिएको छ