: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा अमेरिकी लडाकु विमान खसालिएको घटनाले इरानसँगको कुनै पनि सम्भावित वार्तामा असर नपर्ने बताएका छन् ।
एनबीसी न्यूजसँगको संक्षिप्त टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई 'आजको घटनाले वार्ताको प्रक्रियामा केही प्रभाव पार्छ ? भनी सोधिएको थियो। जवाफमा उनले भने, 'छैन, बिल्कुलै छैन। यो युद्ध हो। हामी अहिले युद्धको स्थितिमा छौँ।' उनले यस घटनालाई युद्धको एक हिस्साको रूपमा सामान्यीकरण गर्न खोजेका छन्। विमान खसालिए पनि इरानसँग भइरहेको कूटनीतिक प्रयास वा वार्ता नरोकिने ट्रम्पको दाबी छ।
इरानले शुक्रबार एक अमेरिकी एफ-१५ लडाकु विमान खसालेको दाबी गरेको थियो। बीबीसीको अमेरिकी साझेदार संस्था सीबीएस न्यूजले दुईवटा स्रोतलाई उद्धृत गर्दै यस घटनाको पुष्टि गरेको छ।
सीबीएस न्यूजका अनुसार विमानमा सवार चालक दलका एक सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। विमानमा रहेका अर्का एक पाइलट भने अझै बेपत्ता छन्। उनको खोजीका लागि अहिले व्यापक रूपमा 'सर्च अपरेसन' जारी रहेको स्रोतले जनाएको छ।