— लागुऔषध तथा विस्फोटक पदार्थ खोजी गर्ने विशेषज्ञ तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले आकस्मिक जाँच गर्दा स्रोत नखुलेको रकम र लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।
टोलीले सीमा नाका यशोधारा गाउँपालिकास्थित मर्यादपुर बजारका दुई फरक स्थानबाट स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक लाखसहित ३ जना तथा लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।
लु५१प १९०९ नम्बरको मोटरसाइकल चलाउँदै आइरहेका यशोधरा गाउँपालिका–७ का ३१ वर्षीय अखलक खाँलाई जाँच गर्दा उनले पछाडि बोकेको झोलामा एक हजार दरका ८ सय वटा नोट बरामद गरिएको हो ।
यस्तै लु६५प ३९८ नम्बरको मोटरसाइकल चालक मायादेवी गाउँपालिका–५ का २६ वर्षीय अजय गुप्ता र पछाडि बसेका लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २७ वर्षीय दुखी मल्लाहलाई चेकजाच गर्दा चालक गुप्ताकासाथबाट ५ सय दरका एक लाख भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटसहित तीनै जनालाई अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
यस्तै युपी५५एडब्लु ०५९६ नम्बरको मोटरसाइकलको सिट कभरमा लुकाइ राखेको अवस्थामा लागुऔषधका रुपमा प्रयोग गरिने १२ ट्याब्लेट स्पासप्रोक्ससहित यशोधरा गाउँपालिका–५ का २६ वर्षीय बब्लु यादव पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
जाँचका क्रममा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सुरक्षा कार्यालयको तालिम प्राप्त दुई कुकुरसहित केननाईन शाखा, जिल्ला प्रहरी तथा मर्यादपुर चौकीबाटे १४ प्रहरी र दुई वटा कुकुर परिचालित थिए ।