: रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)बीच भेटवार्ता भएको छ। लामिछानेसँग आज बिहान भेटवार्ता भएको शाहीले जानकारी दिए।
उनले एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका बताए। उनले भनेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’
शुक्रबार प्रतिनिधि सभाको सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध भएका छन्। औपचारिक घोषणा भने आइतबार संसद बैठकबाट हुनेछ। उपसभामुखमा राप्रपासहित श्रम संस्कृति पार्टी, नेकपा र कांग्रेसले समेत दाबी गरेको छ। संसद् अधिवेशनको पहिलो दिन अन्य दल रास्वपाप्रति आक्रमक बन्दा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगरी बर्षमान पुनलाई दिएका थिए। नेकपा रास्वपाप्रति मौन जस्तै बसेको थियो।
स्रोतका अनुसार लामिछाने र शाहीबीच प्रतिनिधि सभाको उपसभामुखबारे छलफल भएको बताइएको छ। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंग हुनुपर्ने कानुनी व्यवस्था छ। राप्रपामा खुस्बु ओली र सरस्वती लामा महिला सांसद छन्।