— तेह्रथुमको बसन्तपुरस्थित पर्यटकीय क्षेत्र चोलुङ पार्कमा घोडालाई चरम यातना दिने एक व्यक्ति पक्राउ परेका छन् ।
लालीगुराँस नगरपालिका–३ का ५९ वर्षीय टेकबहादुर लिम्बू पक्राउ परेका हुन् । पर्यटकलाई घुमाउन प्रयोग गरिएको घोडालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लक्ष्मण ओलीले जानकारी दिए ।
पक्राउ परेका लिम्बूलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको उनले बताए ।
उक्त घटनाप्रति लालीगुराँस नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाको प्रवक्ता देवेन्द्र खड्काका अनुसार घटनामा संलग्न व्यक्तिलाई स्पष्टीकरण माग गरिए पनि बेवास्ता गरिएकाले कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले भने, 'घटनामा संलग्न व्यक्तिसँग स्पष्टीकरण माग गरिएको थियो, तर पेस नगरेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएयो ।'
नगरपालिकाले यस्ता अमानवीय गतिविधि नदोहोर्याउन चेतावनी दिँदै पशु अधिकार र पशु कल्याणका मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको छ। साथै यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायमा खबर गर्न विज्ञप्तिमार्फत जनाइएको छ ।