: तीन तले घरको रेलिङ विनाको झ्यालबाट खसेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–४ निवासी मनोज आचार्यको ५ वर्षीया छोरी मनस्वी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका– ५ भद्रपुर रोड नजिकै बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका–३ घर भएको हेमसागर भट्टराई (बुढो मामली) मा ती बालिका पाहुना आएकी थिइन् । आज बिहान साढे ८ बजेको समयमा घरको तीन तला माथि कोठामा खेल्ने क्रममा बालिका झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन् ।
बालिकालाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएको थियो । उनको उपचारका क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कोठाको झ्यालमा रेलिङ थिएन । पर्दाले मात्र बारिएको झ्यालबाट बालिका खस्दा दुर्घटना भयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।