— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नसोचेको परिणाम आएको उल्लेख गर्दै त्यसका पछाडि आन्तरिक र वाह्य कारण भएको निष्कर्ष निकालेको छ । चुनावअघि उसले माओवादी, एकीकृत समाजवादीलगायत २ दर्जन दल र समूह मिलाएकाले विगतभन्दा राम्रो नतिजा ल्याउने दाबी गरेको थियो ।
नेकपाले निर्वाचनअघि प्रत्यक्षमा ३० भन्दा बढी र समानुपातिकमा कम्तिमा १७ लाख मत ल्याउने विश्लेषण गरेको थियो । तर, निर्वाचनमा प्रत्यक्षमा ८ र समानुपातिकमा ८ लाख ११ हजार ५७७ मत (९ सिट) ल्याएको छ ।
नेकपा नेता प्रकाश ज्वालाले निर्वाचन परिणामलाई यथार्थ समीक्षा गरी आगामी दिनमा कार्यक्रम बनाउने गरी प्रतिवेदन बनाएको बताए । ‘यो समीक्षा यथार्थपरक छ । यसका आधारमा हामी कार्यक्रम बनाउँछौं,’ उनले भने, ‘नतिजा हाम्रो लागि सुखद् नभए पनि शिक्षा लिएर अघि बढ्ने प्रतिबद्धता हो ।’
‘निर्वाचन हुँदा ४ पार्टीबिच प्रतिस्पर्धा हुनेछ, हामीले कम्तिमा पनि प्रत्यक्षमा ३० भन्दा बढी सिट र समानुपातिकतर्फ १७/१८ लाख मत प्राप्त गर्नेछौं, कांग्रेस, एमाले र रास्वपा प्रत्येकले ४०–५० सिट ल्याउलान भन्ने आकलन गरेका थियौं,’ नेकपा संयोजक दाहालले बिहीबार केन्द्रीय कार्यालयमा कार्य संयोजन समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा भनिएका छ, ‘निर्वाचन प्रचार अभियानका दौरान निर्वाचन क्षेत्रहरूबाट आएका रिपोर्टअनुसार पार्टीले ६० सिटसम्म जित्नसक्ने देखिएको थियो । परिणाम हाम्रो आकलनअनुसार आउन सकेन र हामीले जितिन्छ भनेका कैयन क्षेत्रमा दोस्रो स्थान पनि प्राप्त गर्न सकिएन ।’
ads/samsung-s26-desk-2032026113308.jpg
दाहालले नेकपाको हार हुनुमा आन्तरिक ११ र वाह्य ६ कारण औल्याएका छन् । आन्तरिक कारणमा क्रान्तिपछि आर्थिक सामाजिक रूपान्तरण नहुनु १ नम्बरमा उल्लेख छ । NCP's conclusion: Reasons for defeat range from geopolitical maneuvering to opportunistic tendencies
संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको आमनिर्वाचनमा जनताले कम्युनिष्टहरूलाई करिब दुई तिहाइ बहुमत दिए पनि त्यसबेला बनेको सरकारले आर्थिक–सामाजिक– साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्न चुकेको उल्लेख छ । ‘त्यस सरकारले पार्टीको नीति र जनअपेक्षा अनुरूप काम नगरेको हुनाले पार्टीमा चर्को विवाद उत्पन्न भई पार्टी एकता नै भंग भयो र सरकार पनि ढल्यो । त्यसैबेलादेखि कम्युनिष्टहरूप्रति जनताको विश्वास गुम्न थाल्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेका सरकारहरूले पनि आर्थिक–सामाजिक–साँस्कृतिक रूपान्तरण अभियान चलाएनन् ।’
दाहालले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका केही काम अगाडि बढाएको भए पनि संसद्का दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि रोकिएको तर्क गरेका छन् ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
‘कांग्रेस-एमाले गठबन्धन सरकारले मिलेर बनाएको करिब दुई तिहाइको सरकारले पनि भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह र विकास निर्माणका काम केही नगरेपछि जनता आजित भए,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसमाथि पुराना दलले केही गरेनन्, व्यवस्था बदलिए पनि अवस्था बदलिएन, प्रचारले आगोमा घ्यू थप्ने काम गर्यो । त्यसको परिणाम चुनावमा देखियो ।’
नेकपाले संगठनात्मक समायोजन नहुनु, निर्वाचनमा स्थानीय कार्यकर्ता परिचालन कमजोर भयो । कतिपय क्षेत्रमा स्थानीय नेतृत्वबीचको आन्तरिक मतभेद, गुटगत गतिविधि र अनुशासनहिनताले पनि निर्वाचनमा असर गरेको दाबी छ ।
त्यस्तै, विचारधारात्मक काम नहुनु, युवाहरू पार्टीमा आबद्ध नहुनु हारको कारण देखाइएको छ । नेकपाले वाम शक्तिबीच एकता नहुँदा कमजोर परिणाम आएको उल्लेख छ ।
‘वाम शक्ति एकताबद्ध नहुनु पनि कम्युनिष्ट पार्टीहरूले चुनाव हार्नुको एउटा कारण हो,’ प्रतिवेदन भन्छ, ‘एक्लाएक्लै चुनाव लडेका ९ ओटा कम्युनिष्ट पार्टीले प्राप्त गरेको समानुपातिक मत ४० लाखभन्दा बढी छ । वाम शक्ति एकताबद्ध भएको भए योभन्दा अझै बढी मत अकर्षित हुन सक्थ्यो ।’
मतदातालाई परिवर्तनको महत्व बुझाउन नसक्नु, वाम सरकारले गरेका कामको प्रचार नहुनु र सत्ता केन्द्रित राजनीतिमा अलमलिएको मतदातालाई मन नपरेको दाहालले स्वीकार गरेका छन् ।
ads/1440x233px-dew-aston-0432026041034.png
‘सरकार सञ्चालन गर्दा जनताले अनुभूत गर्नेगरी सुशासन दिने र प्रतिपक्षमा हुँदा जनसरोकारका मुद्दामा जोडदार आवाज उठाउने कुरामा कही न कही कमी भयो । जनताले हामी सिद्धान्त छाडेर सत्ता केन्द्रित राजनीतिमा अलमलिएको देखे,’ दाहाल लेख्छन्, ‘त्यसले गर्दा जनतामा हामीप्रतिको विश्वास घट्दै गयो ।’
नेकपामा अवसरवादी प्रवृत्ति र व्यक्ति कार्यशैली, प्राविधिक जनशक्ति र स्रोत साधनको कमी, विकल्पको रूपमा प्रस्तुत हुन नसक्नु चुनाव हारको कारण देखाइएको छ । ‘आफनाविरुद्ध भइरहेको नकारात्मक प्रचारको सशंक्त प्रतिवाद गर्न सकेनौं । आक्रामक ढंगले प्रस्तुत हुन नै सकेनौं,’ प्रतिवेदनमा भनिएको छ, ‘एमाले कांग्रेस जस्तै हामी पनि रक्षात्मक नै भयौं । पुराना सबै उस्तै हुन् भन्ने प्रचारलाई चिर्ने गरी हामीले आफुलाई एमाले र कांग्रेसभन्दा भिन्न देखाउन सकेनौं ।’
निर्वाचन हारको वाह्य कारणः भूराजनीतिक तथा वाह्य शक्ति केन्द्रको चलखेल NCP's conclusion: Reasons for defeat range from geopolitical maneuvering to opportunistic tendencies
नेकपाले चुनाव हार्नुको अर्को कारण भूराजनीतिक चलखेल पनि रहेको दाबी गरेको छ । ‘हाम्रो देशमा भूराजनीतिक तथा वाह्य शक्ति केन्द्रको चलखेल बढेर गयो । विभिन्न शक्ति केन्द्र यहाँ आफ्नो अनुकुल सरकार बनाउन लागि परे,’ नेकपाको प्रतिवेदन भन्छ, ‘त्यसका निम्ति वाह्य शक्ति र स्रोतबाट परिचालित संघसंस्थाहरू परिचालित गरिए । तिनीहरूले यहाँका पुराना राजनीतिक दलहरू, त्यसमा पनि वामपन्थी राजनीतिक दलहरूमाथि प्रहार गर्ने र उनीहरूलाई बदनाम गर्ने काम गरे ।’
ads/hardik-niskula-opd1440270-2-3032026094036.jpg
नेकपाले पश्चिमा मिडिया र डिजिटल प्लेटफर्महहरूले निर्वाचनलाई प्रभावित गर्नेगरी मत सर्वेक्षण र मतदातामा नकारात्मक प्रभाव पार्ने तथा पूर्वधारणा सुदृढ बनाउने काम गरेको दाबी गरेको छ । उसले भू-राजनीतिक शक्ति को को कति सक्रिय भए भन्ने चाहिँ उल्लेख गरेको छैन ।
'पुराना दल विरोधी अभियान चल्नु पनि एक कारण भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वाम शक्तिमाथिको प्रहार, डिजिटल सुनामी पनि नेकपाको हारको कारण औल्याइएको छ । ‘प्रतिस्पर्धी शक्तिहरूद्वारा फेक अकाउन्ट, ट्रोल समूहहरू प्रयोग गरी लक्षित दुष्प्रचार गरेर हाम्रा नेताहरूको बदनाम गरियो । सामाजिक सञ्जालमा ट्रेन्ड हुने विषयहरू प्रायः पुराना दल खासगरी वामविरोधी बने’ नेकपाको प्रतिवेदन भन्छन्, ‘विवादास्पद सामाग्री भाइरल हुँदा वाम शक्तिको छबि धुमिल बन्यो ।’
लोकप्रियतावादी शक्तिको प्रचार र प्रहार, विदेशमा बस्ने नेपालीको भूमिकाले नेकपा पराजित भएको निश्कर्ष निकालिएको छ ।
चुनावबारे नेकपाको निश्कर्ष छ, ‘असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम पनि असामान्य नै आएको छ । यसले लोकप्रियतावादी शक्तिलाई सत्तासिन बनाएको छ भने पुराना ठूला दलहरूलाई मात्र होइन, राजावादी र पहिचानवादी शक्तिहरूलाई समेत कमजोर बनाएको छ ।’
नेकपाको प्रतिवेदन भन्छ, ‘यस परिणामले अहिलेको निर्वाचन प्रणालीबाट एउटा पार्टीले बहुमत ल्याउन सक्दैन भन्ने धारणालाई खण्डित गरेको छ ।’