: काठमाडौंको ठमेलमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय चु यी फङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालहरूबाट नेपालीसँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाउने गरेका थिए। प्रलोभनमा परेका नेपालीहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा क्रिप्टो करेन्सीमा परिवर्तन गर्ने गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।
परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भट्टराईका अनुसार उनले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँको क्रिप्टो कारोबार गरेको पाइएको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ठमेलबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।