: सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही चोकबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ निवासी २५ वर्षीय संजयकुमार यादवलाई १६ हजार ८ सय क्याप्सुल लागू औषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताएका छन् ।
अबैध रुपमा भारतबाट लागू औषध खरिद गरी नेपालतर्फ आउँदै गरेका यादवलाई शंकास्पद रुपमा देखिएपछि चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध फेला परेको एसपी थेबेले बताए । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय लौकहीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनी लागू औषध तस्करी सञ्जालसँग आबद्ध रहेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधसँग जोडेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
एसपी थेबेले नेपाल–भारत खुला सीमानाका कारण लागू औषध तस्करी चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार सीमावर्ती क्षेत्र हुँदै ठूलो मात्रामा लागू औषध नेपाल भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । एसपी थेबेले अबैध लागू औषध कारोबार नियन्त्रणका लागि जिल्लाभर चौबिसै घण्टा प्रहरी परिचालन गरी निगरानी कडा पारिएको जानकारी दिए ।