: प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गरेका डोलप्रसाद (डीपी) अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रुपमा गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै अर्यालले यस्तो बताएका हुन् । प्रतिनिधिसभाको सभामुख पदमा रास्वपा नेता अर्यालले मनोनयन दर्ता गराएका छन् । अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको थियो । सभामुख पदको आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।