: सिन्धुलीमा बस र हायस एक आपसमा ठक्कर खाँदा नौ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको हायस र खुर्काेटबाट काठमाडौंतर्फ जाँदै गरेको ०१–००६ख २२९७ नम्बरको बस बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–५ साईटारमा एकआपसमा ठक्कर खाएका थिए । दुर्घटना तीन जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा हायस चालक ललितपुर महानगरपालिका–१५ बस्ने बर्ष ३८ को गजबहादुर मगर, बसका चालक दोलखा बैतेश्वर गाउँपालिका–६ बस्ने बर्ष २६ को सुमन सुबेदीसहित नौ जना घाइते भएको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।
भुजेलका अनुसार हायस चालक मगरको टाउकोमा चोट लागेको छ । यस्तै काभ्रे मन्दनदेउपुर नगरपालिका–९ बस्ने बर्ष ३० की अनिता न्यौपाने, सोही ठाउँका बर्ष ३२ को प्रबिन तिवारी घाइते भएका छन् । यस्तै ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ । चारै जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
यस्तै झापा झिलझिले नगरपालिका–८ बस्ने बर्ष ९ की संस्कृति यादव, सोही ठाउँका बर्ष ३२ की कल्पना राई, झापा मेची नगरपालिका–१३ बस्ने बर्ष ३८ का अमेश खड्का, झापा भद्रपुर नगरपालिका–१ बस्ने बर्ष २२ का अमृत रानामगर, झापा कचनकवल गाउँपालिका–७ बस्ने बर्ष ४२ का दिनप्रसाद सिग्देल घाइते भएका छन् । उनीहरूको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भईरहेको छ । घाइतेहरूको ईलाका प्रहरी कार्यालय खुर्काेट, प्रहरी चौकी रातामटाको प्रहरी टोली र स्थानीयले उद्धार गरेका हुन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी नै छ ।