: यातायात व्यवसायीले सरकारले भाडा समायोजन नगरे स्वघोषणा गर्ने चेतावनी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारलाई पटक-पटक आग्रह गर्दा पनि भाडा समायोजनमा सुनुवाइ नगरेको भन्दै मूल्य वृद्धिका आधारमा वैज्ञानिक विधिलाई आधार बनाई भाडा स्वघोषणा गरी लिने विकल्प नभएको बताएको हो।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुँदा समेत यातायातको भाडा समायोजनमा सरकारको ध्यान नजानु विभेदकारी भएको उल्लेख छ।
महासंघले तीन पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा व्यवसायीहरुले दैनिक रूपमा लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ। व्यवसायीले अब घाटामा सेवा सञ्चालन गर्न नसक्ने भएकोले सेवा बन्द गर्नुपर्ने अवस्था आएको महासंघले जनाएको छ।
महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको बताएको छ। महासंघले मूल्यवृद्धिका आधारमा सार्वजनिक यात्रुवाहक तर्फ ११.३३%, मालवाहक तराई ८.८१% र पहाड तर्फ १४.२९% भाडा समायोजन गर्न माग गरेको छ।