। पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि सञ्चालनमा आएको छ ।
कमला–कञ्चनपुर सडक विस्तारमा भएको ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए ।
आन्दोलनकारी र निर्माण पक्षबीच सहमति जुटेपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानदेखि नै स्थानीयले राजमार्ग अवरुद्ध पार्दा सयौँ सवारीसाधन रोकिएका थिए भने यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए । आन्दोलनका कारण लहान आसपास करिब ५ किलोमिटरसम्म सवारी जाम भएको थियो।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले पहल गर्दै सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहानैदेखि प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भए पनि प्रारम्भमा सफलता मिलेको थिएन ।
पछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा भएको छलफलपछि निर्माण कम्पनी र आन्दोलनकारीबीच सहमति जुटेको बताए।
सहमतिअनुसार निर्माण कम्पनीले तत्काल धुलो नियन्त्रणका लागि पानी हाल्ने तथा १५ तारिकदेखि नियमित रूपमा निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्रशासनले बैठकमा नै निर्माण कार्य तीव्र बनाउन निर्देशन दिए पनि निर्माण कम्पनीका पदाधिकारीले प्रक्रिया पुर्याउन समय लाग्ने हुँदा १५ तारिकदेखि नै काम अघि बढ्ने निर्माण कम्पनीको प्रतिबद्धतापछि सडक खुलाइएको उनले जानकारी दिए।
स्थानीयवासीहरूले सडकबाट उड्ने अत्यधिक धुलोका कारण स्वास्थ्यमा गम्भीर असर परेको गुनासो गर्दै आएका छन् ।
साथै, हिलो, खाल्डाखुल्डी र अधुरा संरचनाका कारण दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ।
उक्त सडक विस्तार आयोजना सन् २०२० मा सुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको योजनामा हालसम्म झन्डै १३ अर्ब रुपैयाँ खर्च भइसके पनि भौतिक प्रगति भने सन्तोषजनक नभएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले यसअघि दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समय सीमा आगामी जुनमा सकिँदैछ।