मुख्य समाचार
सोलुखुम्बुका जनप्रतिनिधि बजेट माग्दै विराटनगरमा, रणनीतिक सडकका लागि १० करोड माग
सोलुखुम्बुका जनप्रतिनिधि बजेट माग्दै विराटनगरमा, रणनीतिक सडकका लागि १० करोड माग

: सडक निर्माणका लागि बजेट माग गर्दै कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला सोलुखुम्बुबाट जनप्रतिनिधि र स्थानीय बासिन्दा बिहीबार प्रदेश राजधानी विराटनगर आइपुगेका छन्।


उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर सोलुखुम्बु र भोजपुरलाई जोड्ने रणनीतिक महत्वको उत्तर–दक्षिण सडक खण्डको ‘ट्याक ओपन’ कार्य पूरा गर्न आगामी आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गर्न माग गरे। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकादेखि विराटनगर आएका जनप्रतिनिधि र स्थानीयले बजेट माग गर्दै मुख्यमन्त्री कार्कीलाई औपचारिक रूपमा अनुरोधपत्र नै बुझाएका हुन्।

महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, महाकुलुङ–२ का वडाध्यक्ष प्रदीप राई, ४ का वडाध्यक्ष सरस्वती कुलुङ, महाकुलुङ–५ का वडाध्यक्ष महलसिं राई तथा स्थानीय अगुवाहरु हस्तमान कुलुङ, भक्त कुलुङ र तिमलकुमार कुलुङसहितको टोलीले मुख्यमन्त्री कार्कीलाई भेटेर संयुक्त रूपमा अनुरोधपत्र बुझाएको हो। उक्त सडक अत्यन्त रणनीतिक र दीर्घकालीन विकासको आधार भएकाले निर्माणलाई प्राथमिकतामा राख्न उनीहरुले आग्रह गरेका छन्।


गाउँपालिका उपाध्यक्ष विपना कुलुङका अनुसार सडक विभागले आर्थिक वर्ष २०७१–०७२ मा तयार पारेको विस्तृत परियोजना प्रतिवेदनअनुसार बेल्टार बजार–कम्फुघाट–पामाखम भन्ज्याङ–टेम्के–साप्सुधाप–मयुर डाँडा–साल्पा पोखरी–गुदेल हुँदै सोलु सल्लेरीसम्म जोडिने उक्त सडक खण्ड उत्तर–दक्षिण ‘कनेक्टिभिटी’का दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ।

सडक विभागअन्तर्गत निर्माणाधीन उक्त सडक आयोजना निर्माणको जिम्मासहित २०७५ असोज १२ गते प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसयता विभिन्न संरचनागत कार्य र ठेक्कामार्फत सडक निर्माण प्रक्रिया अघि बढाइएको भए पनि पूर्ण रूपले अझै करिब १७ किलोमिटर क्षेत्रको ‘ट्याक ओपन’ हुन बाँकी रहेको कुलुङले बताइन्। उनका अनुसार हालसम्म अधुरो अवस्थामा रहेको सडक खण्ड सोलुखुम्बु र भोजपुरको सिमाना साल्पा भन्ज्याङसम्म पुग्छ।

हालसम्मको निर्माण कार्य सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सीमासम्म पुगेको महाकुलुङ–५ का वडाध्यक्ष महलसिं राईले बताए। उनका अनुसार उक्त खण्डको महाकुलुङ–४ र ५ को सीमासम्मको ‘ट्याक ओपन’ कार्य गत आर्थिक वर्षमा मात्रै सम्पन्न भएको थियो। अब बाँकी ‘ट्याक ओपन’सहितको करिब १७ किलोमिटर सडक निर्माण पूरा भएमा सोलुखुम्बु जिल्लालाई कोशी प्रदेशको राजधानी विराटनगरसँग छोटो दूरीमा जोड्न सकिने जानकारी राईले दिए।

प्रदेश सरकारलाई बुझाइएको अनुरोधपत्रमा उक्त सडक स्थानीय यातायातको सुविधा मात्र नभएर भविष्यमा उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकसित हुने सम्भावना पनि औंल्याइएको छ। यो सडक जोगबनी–किमाथांका मार्गसँग जोडिने भएकाले नेपाल–चीन व्यापार विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने महाकुलुङ–२ का वडाध्यक्ष प्रदीप राईले बताए। साथै, केचना–सगरमाथा राजमार्गसँग समेत जोडिने भएकाले यसको रणनीतिक महत्व अत्यन्तै धेरै रहेको उनको भनाइ छ।

मुख्यमन्त्री कार्की पनि जनप्रतिनिधि र स्थानीयको मागप्रति सकारात्मक देखिएका छन्। उनले आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्री कार्कीले भने, ‘म आफैं स्थलगत रूपमा पुगेर आएको क्षेत्र हो। यो त्यहाँको आवश्यकता पनि हो र भविष्यमा उक्त सडक ‘लाइफलाइन’ बन्न सक्छ। किमाथांका–जोगबनी र केचना–सगरमाथा सडकसँग पनि जोडिने भएकाले यो अत्यन्तै महत्वपूर्ण र महत्वाकांक्षी योजना हो। दुर्गम जिल्लालाई पूर्वाधारका हिसाबले सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्छ।’

पर्यटन र प्राकृतिक सौन्दर्यका दृष्टिले विश्वप्रसिद्ध सोलुखुम्बु जिल्ला हिमाल, ट्रेकिङ, पर्वतारोहण तथा धार्मिक र साहसिक पर्यटनको प्रमुख गन्तव्य हो। तर, भौगोलिक कठिनाइका कारण यातायात पूर्वाधार अझै कमजोर रहेको अवस्थामा यस्तो सडक परियोजनाले जिल्लाको विकासमा ठूलो परिवर्तन ल्याउने महाकुलुङ–४ की वडाध्यक्ष सरस्वती कुलुङको भनाइ छ।

उनले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि १० करोड रुपैयाँ विनियोजन गरेर बाँकी सडक खण्डको ‘ट्याक’ खोल्ने कार्यमा सहयोग गरिदिन प्रदेश सरकारसँग अनुरोध गरिएको बताइन्। ‘यो सडक पूर्ण हिसाबले निर्माण सम्पन्न भइसकेपछि सोलुखुम्बुको मात्र नभएर समग्र कोशी प्रदेशको आर्थिक, पर्यटन र व्यापारिक विकासमा नयाँ सम्भावना खुल्नेछ,’ वडाध्यक्ष कुलुङले भनिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थप गरेको छ। न्यायाधीश पुरुषोत्तम खतिवडाको एकल इजलासले बिहीबार ओलीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थपेको हो। यसअघि अदालतले पाँच दिनको म्याद थपेको थियो। जेनजी आन्दोलन सम्बन्धमा बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई गत शनिबार पक्राउ गरेको ...
: गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ। कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो। समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई छन्। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ...
: रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन आग्रह गरेका छन्। आज संसद बैठकमा सम्बोधन गर्दै उनले संविधान र कानुनका आधारमा नेता र पार्टी सिफारिसमा नियुक्ति खाएकालाई स्वैच्छिकरुपमा राजीनामा दिन आग्रह गरेका हुन्। विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त ...
: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयको बिहीबार बसेको बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो। विभिन्न मन्त्रालय तथा नगरपालिकामा रहेका कर्मचारीलाई गाउँपालिकामा खटाइएको हो।
: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारु रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा शिव बहादुरले ह्वाट्सएपमा ...