: विद्युत महसुल तिर्न अटेर गर्ने ४ पालिकाको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने रौतहटका चार नगरपालिकाको लाइन काटेको हो । विद्युत प्राधिकरणको गौर वितरण केन्द्रले सरकारी निकायबाटै लाइन काट्न सुरु गरेपछि ५ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।
महसुल नबुझाउने रौतहटका ईशनाथ, राजदेवी, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादबले जानकारी दिए । केन्द्रले गत साउन १ देखि चैत १६ गतेसम्म महसुल नतिर्ने २ हजार ४५ जना ग्राहकको लाइन काटेको प्रमुख यादबले बताए । महसुल उठाउने अभियान सञ्चालन गरेर ९ करोड ५५ लाख ८३ हजार ३९६ रुपैयाँ असुल गर्ने लक्ष्य राखिएकोमा हालसम्म १ हजार ७७२ ग्राहकबाट ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ उठिसकेको यादबले जानकारी दिए ।
लाइन पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुर वापत प्राधिकरणले थप १५ लाख ४९ हजार ६३५ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ‘कालोसूची’ मा परेका ६० ग्राहकबाट २४ लाख ४९ हजार ६३५ र विद्युत चुहावट गर्ने १२० जनाबाट १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना समेत असुल भएको प्रमुख यादवले जानकारी दिए । लाइन काटिएपछि ईशनाथ र राजदेवी नगरपालिकाले बक्यौताको आंशिक भुक्तानी गर्दै बाँकी रकम पनि चाँडै तिर्ने प्रतिबद्धता जनाएपछि पुनः लाइन जोडिएको यादबले बताए ।