एमाले कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को संसद्को पहिलो बैठकमा बिहीबार भएको सम्बोधन विवादित बनेको छ। थापाले फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन नेपाली सेनासहित राज्यसंयन्त्र लागेको गम्भीर आरोप लगाएका थिए।
उनले भदौ २३ र २४ गते असंवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भएको र फागुन २१ गते आमनिर्वाचनमार्फत नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरिएको आक्षेप लगाएका थिए। ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा को–कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ थापाले व्यंग्यात्मक रूपमा थपे, ‘त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु।’
थापा यतिमा मात्र रोकिएनन्। रास्वपाको ‘जादुमय विजय’का लागि बाह्य दृष्टिले क–कसले निर्णायक भूमिका निर्वाह गरे भन्दै फेहरिस्त सूची बताए। ‘अदृश्य शक्तिहरू, टीओबी, एआई अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे, जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले,’ उनले फेरि व्यंग्य गरे, ‘त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु।’
थापाले कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो भन्ने समयक्रममा पुष्टि हुने बताए। उनले कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएका थिए र कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो भन्दै प्रश्न गरे।
थापाले रास्वपाको अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको बताए। उनले भने, ‘यसले आफ्ना कमीकमजोरीहरूलाई सच्याउने अवसर दिएको छ। यो पराजय फगत अस्थायी हो। पराजित सेनाले छिट्टै सिक्दछ, त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ।’
थापाको भनाइमा एमालेकै शीर्ष नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन्। ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,’ उपाध्यक्ष विष्णु पौडेलको भनाइ छ, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’
एमाले उपमहासचिव योगेश भट्टराईले पनि सेनालगायत न्यायालय र कर्मचारीतन्त्रमाथि लगाइएको आरोपलाई खण्डन गरेका छन्। ‘नेपाली सेनालगायतका सुरक्षा अंगहरू, न्यायालयलगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ,’ उनको भनाइ छ, ‘संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ।’
बैठकको सुरुवातमा नै एमाले सांसद गुरुप्रसाद बरालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्का ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण रूपमा गिरफतारी गरेको हुँदा तत्काल रिहा गर्न माग गरेका थिए।