मुख्य समाचार
बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिक नेतृत्व
बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिक नेतृत्व

। अपर्झट पायो यो वर्ष देशले महिला प्रधानमन्त्री। त्यही अप्रत्यासित परिणामको बाछिटा उछिट्टिंदै उछिट्टिंदै आइपुग्यो बेइजिङसम्म।

अहिले महिला प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका नयाँ प्रधानमन्त्रीलाई जिम्मेवारी सुम्पिएर बिदा भइसकेकी छिन्। तर जेनजी आन्दोलनको फलस्वरूप अरू केही देश जस्तै चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली पनि फिर्ता भएपछि दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी छिन् रोशन खनालले।




नेपालको कूटनीतिक क्षेत्रमा महिलाको उपस्थिति अझै पनि सीमित छ। तर यही सीमित घेराभित्रबाट आफ्नो क्षमता, मिहिनेत र आत्मविश्वासका बलमा अगाडि बढेकी एक सशक्त व्यक्तित्व हुन् खनाल।

चीनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी खनालको यात्रा सामान्य परिवारबाट शुरु भएर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चसम्म पुगेको प्रेरणादायी कथा हो।




यसअघि बेलायतमा दुईपटक कार्यवाहक राजदूत भइसकेकी सहसचिव रोशन खनाल अहिले चीनमा कार्यवाहक राजदूत छिन्। नेपाल–चीन सम्बन्धको ७० वर्षे इतिहासमा चीनस्थित नेपाली दूतावासले पाएको उनी नै पहिलो महिला नेतृत्व हुन्।

पाल्पामा जन्मिएकी खनालको बाल्यकाल सामान्य थियो। प्रारम्भिक शिक्षा त्यहींबाट शुरु गरेर उनले आठ कक्षासम्म पाल्पामै पढिन्। त्यसपछि भैरहवा हुँदै काठमाडौंसम्म उनको शैक्षिक यात्रा अघि बढ्यो। उनले बीबीए भैरहवाबाट र स्नातकोत्तर काठमाडौंबाट पूरा गरिन्।

‘मेरो ब्याकग्राउन्ड चाहिं कमर्स हो। शुरुदेखि नै सरकारी सेवामा जाने भन्ने योजना थिएन’, उनले भनिन्।



उनको सुरुआती करिअर निजी बैंकबाट भयो। तर त्यहीं काम गर्दा उनले देखेको एक यथार्थले निजी संस्थामा काम गरिरहन उनको मनले भने मानेन। विशेषगरी महिलामाथि हुने व्यवहारले उनलाई गहिरो गरी प्रभाव पार्‍यो।

‘प्राइभेट बैंकमा काम गर्दा मैले देखें- महिलाहरूलाई प्रेग्नेन्ट भएपछि बिदा दिनुको सट्टा जागिर छोड्न भनिन्थ्यो। त्यसले मलाई निकै सोच्न बाध्य बनायो’, उनी सम्झिन्छिन्।

यही अनुभवले उनलाई सरकारी सेवातर्फ मोड्यो। उनी भन्छिन्, ‘महिलाहरूका लागि सुरक्षित र स्थिर जागिर चाहिन्छ भन्ने लाग्यो। त्यसैले सरकारी सेवामा जाने निर्णय गरें।’

परराष्ट्र सेवामा प्रवेश उनका लागि पूर्वयोजना भन्दा पनि अवसर र साहसको परिणाम थियो। पहिलो पटक लोकसेवा परीक्षा दिंदा नै उनले सफलता हात पारिन्। उनी भन्छिन्,
‘मैले पहिले खासै तयारी गरेकी थिइनँ। तर एकपटक परीक्षा दिएँ र पहिलो पटकमै नाम निस्कियो।’

२०६७ सालमा परराष्ट्र सेवामा प्रवेश गरेपछि उनले महसुस गरेको पहिलो चुनौती थियो सिस्टमभित्रको मार्गदर्शन अभाव। ‘त्यसबेला कसैले कसैलाई केही सिकाइदिने चलन नै थिएन’, उनी भन्छिन्।

उनको पहिलो पोस्टिङ पासपोर्ट विभागमा भयो। त्यो समय सेवा अत्यन्तै दबाबमा थियो। बिहानैदेखि लामो लाइन, सेवाग्राहीको भीड र सीमित स्रोत बीच काम गर्नुपर्ने अवस्था थियो।
‘१० बजे अफिस पुग्दा लाइन निकै टाढासम्म पुगिसकेको हुन्थ्यो। त्यो देख्दा नागरिकले कति दुःख पाएका छन् भन्ने महसुस हुन्थ्यो’, उनी सम्झिन्छिन्।

‘चीनबाट हामीले धेरै लिन सक्छौं, तर हामीले त्यसको पूर्ण उपयोग गर्न सकेका छैनौं’ उनी भन्छिन्, ‘हामीले आफ्नो इन्ट्रेस्ट के हो भन्ने स्पष्ट बनाउनुपर्छ। होमवर्क नगरी बाहिरबाट अवसर खोजेर मात्र हुँदैन।’
त्यही समयमा उनी गर्भवती पनि थिइन्। व्यक्तिगत र पेशागत दुवै जिम्मेवारी बीच सन्तुलन मिलाउनु सहज थिएन।

‘एकदमै अप्ठ्यारो समयमा काम शुरु गरेको थिएँ। ट्रेनिङ पनि थिएन, सिधै जिम्मेवारीमा बस्नुपरेको थियो’, उनी भन्छिन्।

२ वर्षपछि उनको पहिलो विदेश पोस्टिङ इजरायलमा भयो। सन् २०१२ मा उनी त्यहाँ पुग्दा युद्धको अवस्था थियो। ‘टिभी खोले पनि युद्धकै समाचार आउँथ्यो। परिवारले पनि ‘नजाऊ’ भन्नुभएको थियो’, उनी भन्छिन्।

तर उनले कर्तव्यलाई प्राथमिकता दिइन्। ‘काम गर्नुपर्छ भनेपछि जानैपर्छ भन्ने सोच बनाएँ’, उनले भनिन्।

इजरायल बसाइ उनको जीवनकै महत्वपूर्ण अनुभव बन्यो। त्यहाँ उनले नेपाली श्रमिकहरूको जीवन नजिकबाट देखिन्। विशेषतः महिला श्रमिकहरूको अवस्था निकै संवेदनशील थियो। ‘९० प्रतिशतभन्दा बढी महिला हुनुहुन्थ्यो। उहाँहरू २४सै घण्टा काममा बस्नुपर्ने, परिवारबाट टाढा हुने भएकाले पनि होला त्यसले मानसिक समस्या धेरै देखिन्थ्यो’, उनी बताउँछिन्।

इजरायलमा नेपालीहरूलाई इजरायलीहरू भन्दा पनि नेपालीहरूबाट नै धेरै अप्ठ्यारो हुन्थ्यो। डिप्रेसन, पारिवारिक दबाब, आर्थिक ठगी र कानूनी जटिलताले नेपालीहरूको दिन कठिन बनिरहेका हुन्थे। ‘नेपालीले नेपालीलाई नै ठग्ने, ब्याजमा पैसा लगाउने, अनि समस्या हुँदा दूतावास आउँथे’, उनी भन्छिन्।

कतिपय अवस्थामा गम्भीर घटना पनि हुन्थे। ‘महिलाहरूले आत्महत्या गर्ने प्रयास गरेको, सम्बन्धका कारण समस्या आएको जस्ता केसहरू हामीले पनि डिल गर्नुपर्थ्यो’, उनले सुनाइन्।

सन् २०१२ मा इजरायलमा युद्धको अवस्था अहिले जस्तै थियो। ‘युद्ध हुँदा सबै आत्तिन्छन्। त्यतिबेला नेपालीहरूलाई काउन्सिलिङ गर्ने, समन्वय गर्ने जिम्मेवारी हाम्रो हुन्थ्यो’, उनी भन्छिन्।



चार वर्षपछि नेपाल फर्किएर उनले विभिन्न जिम्मेवारी सम्हालिन् र पुनः विदेश पोस्टिङका रूपमा बेलायत पुगिन्।

लन्डनको अनुभव भने फरक थियो। ‘इजरायलमा कामदारहरू धेरै थिए, तर लन्डनमा परिवार, विद्यार्थी, गोर्खा समुदाय सबै मिसिएको समाज थियो’, उनी भन्छिन्।

गोर्खा सैनिकहरूको समान पेन्सनको मुद्दा त्यहाँको प्रमुख चुनौती थियो। ‘उहाँहरूको वर्षौंदेखिको माग थियो। आन्दोलन र अनशन हुँदा निकै संवेदनशील स्थिति हुन्थ्यो’, उनी सम्झिन्छिन्।

त्यसैगरी, एनआरएन संगठनभित्रको विभाजनले पनि कामलाई जटिल बनाएको थियो।

‘एनआरएन निकै डिभाइडेड थियो’ रोशन सम्झिन्छिन्, ‘त्यससँग डिल गर्न पनि सजिलो थिएन।’

नेपालको राजनीतिक अस्थिरताले कूटनीतिक काममा थप चुनौती ल्यायो। ‘राजदूतहरू बारम्बार परिवर्तन हुँदा निरन्तरता राख्न गाह्रो हुन्छ’ उनी भन्छिन्, ‘सरकारसँगै राजदूतहरु पनि परिवर्तन हुँदा एउटाले गरेको प्रतिबद्धता अर्कोले नलिन पनि सक्छ।’

यस्तो अवस्थामा उनले कार्यवाहक राजदूतका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिन्।

‘राजदूत नभएको अवस्थामा पनि ठूला कार्यक्रमहरू सम्हाल्नुपर्‍यो। त्यो निकै चुनौतीपूर्ण थियो’, उनी भन्छिन्। यही चुनौतीले उनको नेतृत्व क्षमता थप खारियो। बेलायतमा छँदै उनले दुईपटकसम्म कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिन्।



अहिले उनी चीनमा कार्यवाहक राजदूतको रूपमा कार्यरत छिन्। चीन नेपालका लागि महत्वपूर्ण साझेदार त हो तर चुनौती पनि धेरै छन्।

‘चीनबाट हामीले धेरै लिन सक्छौं, तर हामीले त्यसको पूर्ण उपयोग गर्न सकेका छैनौं’ उनी भन्छिन्, ‘हामीले आफ्नो इन्ट्रेस्ट के हो भन्ने स्पष्ट बनाउनुपर्छ। होमवर्क नगरी बाहिरबाट अवसर खोजेर मात्र हुँदैन।’

भाषा र सांस्कृतिक दूरी पनि चुनौतीका रूपमा रहेको उनी बताउँछिन्।

‘चाइनिज भाषा र सिस्टम बुझ्न गाह्रो हुन्छ, त्यसले पनि एक्सेसमा असर पार्छ’ खनालको बुझाइ छ, ‘इन्भेस्टमेन्ट, ट्रेड, टेक्नोलोजी जस्ता क्षेत्रमा ठूलो सम्भावना छ।’

रोशन खनालको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सामाजिक परिवर्तनको संकेत पनि हो। उनले महिलाहरूको क्षमतामा पूर्ण विश्वास राख्छिन्। महिलालाई दया गरेर होइन, अवसर दिएर अगाडि बढाउनुपर्छ भन्ने उनको बुझाइ छ।

महिलाले आफूलाई प्रमाणित गर्न अझ बढी मिहिनेत गर्नुपर्ने खनाल स्वयंको पनि अनुभूति हो। ‘हामीले एक्सक्युज होइन, काम गरेर देखाउनुपर्छ’ उनी भन्छिन्, ‘आफ्नो क्षमता प्रमाणित गरेर देखाउनुपर्ने हाम्रो छुट्टै चुनौती छ।’

आफ्नो जीवनमा व्यक्तिगत र पेशागत जिम्मेवारी बीच सन्तुलन कायम गर्न बेलाबेलामा कठिन निर्णय लिनुपरेको अनुभव स्वयं खनालसँग पनि छ। ‘सानो बच्चा छोडेर पनि काममा जानुपरेको छ। अहिले सम्झिंदा कहिलेकाहीं नराम्रो लाग्छ’, उनी भन्छिन्।

तर त्यो निर्णय आवश्यक थियो भन्ने उनको विश्वास छ। ‘त्यतिबेला महिलाले काम गर्न सक्दैनन् भन्ने सोच तोड्न जरूरी थियो’, उनी भन्छिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...