: जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८, मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न भई काठमाडौँ कारागार कार्यालय (सुन्धारा) मा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।
हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो चिनजान रहेको र 'सेटिङ' मिलाएर धरौटीमा छुटाइदिने भन्दै पीडितहरूलाई विश्वासमा पारेका थिए। उनले धरौटी रकम र वकिलको बहस खर्च भनी कुल ९ लाख रुपैयाँ आफ्नी श्रीमती मिठु मगरको बैंक खातामा जम्मा गर्न लगाएका थिए।
रकम लिएर पनि काम नगरेपछि ठगी भएको पुष्टि भएसँगै प्रहरीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।