: नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा थापालाई निर्वाचित गरेको हो।
संसदीय दलको नेतामा एमाले सांसद सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए। तर, अन्तिम समयमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको हो।
त्यस्तै संसदीय दलले चैt २१ गते संघीय संसदका आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ भने पार्टी अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पूर्वाग्रहपूर्ण रूपमा पक्राउ गरेको भन्दै निःशर्त रिहाइको माग गरिएको एमाले उपाध्यक्ष एवं ससदीय दलका नेता रामबहादुर थापा बादलले जानकारी दिए।
उहाले अध्यक्ष ओलीको निःशर्त रिहाइका लागि सडकका साथै सदनबाट पनि पार्टीले आवाज उठाउने उल्लेख गरे। बैठकले विधेयकका बारेमा विज्ञहरूसँग परामर्शका लागि सात सदस्यीय कार्यदल गठन समेत गरेको उनले बताए। थापाले पार्टी र देश/जनताका मुद्दालाई प्रभावकारी ढंगले सदनमा उठाउँदै रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने धारणा राखे।
बैठकपछि एमाले सांसद सुहाङ नेम्वाङले संसदीय दलमा आफूले दाबी गरेर पार्टीलाई रूपान्तरणको पहिलो प्रयास गरेको बताए। दलको नेता चयनका लागि भएको प्रक्रिया स्वभाविक भएको भन्दै यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ। उनले एमालेलाई सुदृढ गर्न पार्टीभित्र सदैव गम्भीर भएर लाग्ने उल्लेख गरे।
त्यस्तै नेम्वाङले संसद भवन भित्र सत्तापक्ष र प्रतिपक्षीभन्दा पनि देश र जनताको हित सोचेर सरकारका राम्रा कामलाई सहयोग र नराम्रा कामलाई खबरदारी गर्ने बताए।