: चैत १९ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइईको सम्पूर्ण तयारी पुरा भइसकेको र यस वर्ष जिल्लाबाट कूल १० हजार ७०३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ ।
पर्सा जिल्लाका १५३ वटा विद्यालय (७० वटा सामुदायिक र ८३ वटा संस्थागत ) बाट गरी १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । चैत १९ गतेदेखि चैत २९ गतेसम्म चल्ने परीक्षाका लागि पर्सा जिल्लामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार पर्सा जिल्लामा ग्रामीण क्षेत्रमा १४ र शहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनका लागि १,३०४ जना जनशक्ति परिचालन गरिने भन्दै उनले २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी रहेको बताए ।
जिल्लाका सबै परीक्षा केन्द्रका लागि प्रश्नपत्र नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पुर्याई सकिएको र बाँकी आन्तरिक तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।