: सुनसरीको इनरुवास्थित मालपोत कार्यालयमा छापा मारी जिल्ला प्रशासन कार्यालयले १५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई दुःख दिने तथा अवैध रूपमा आर्थिक लाभ लिने गरेको गुनासोका आधारमा बुधबार उक्त कार्यालयमा छापा मारी बिलौलियाहरुलाई पक्राउ गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले मालपोत कार्यालयभित्र आर्थिक अनियमितता हुने र लेखापढी व्यवसायीहरू नै बिचौलियाको रूपमा सक्रिय भई सेवाग्राहीलाई सास्ती दिने गुनासो बढेपछि छापा मारिएको बताए । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन यस्तो कदम चालिएको उनको भनाई छ ।
पक्राउ परेका १५ जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गरिनेछ । पक्राउ परेकाहरु मालपोत कार्यालय अगाडी लेखापढी सेन्टर सञ्चालन गरी बसेका ब्यबसायीहरु रहेका छन् ।
पछिल्लो समय मालपोत कार्यालयमा बिचौलियाको सक्रियताका कारण सेवाग्राहीले अनावश्यक सास्ती भोग्नु परेको गुनासो बढ्दै आएको थियो । सेवा लिन आउने सर्वसाधारणलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै प्रशासनले निगरानी बढाएको छ । सरकार परिवर्तनसँगै स्थानीय प्रशासनले सरकारी कार्यालयमा हुने अवैध गतिविधि नियन्त्रणमा चासो देखाउँदै कडाइ सुरु गरेको छ । आगामी दिनमा यस्ता गतिविधिविरुद्ध थप कडा अनुगमन र कारबाही जारी रहने प्रशासनले जनाएको छ ।