: नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्न आफू संसदीय दलको नेतामा दाबी गरेको बताएका छन्। दलको नेतामा उम्मेदवारी दिनका लागि प्रस्तावक र समर्थकसमेत नपाएका उनले यसलाई पहिलो पाइलाको रूपमा ब्याख्या गरे।
'यो प्रक्रियालाई नकारात्मक ढंगले हेर्नु हुँदैन। लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्ने प्रयास गरेका हौं। यसमा मलाई कुनै दबाब छैन। मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अनुसारको भएन। मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य ठानेर यो रिजल्ट आएको हुनसक्छ,' उनले भने।
इलाम-२ बाट निर्वाचित सुहाङले अपेक्षित नतिजा नआए पनि यसलाई आफूले पाइलाको रूपमा लिएको बताए। 'अपेक्षित हिसाबको नतिजा नआए पनि हतोत्साही हुनु हुँदैन। मैले एक पाइला चलेको हुँ, आगामी दिनमा पनि चाल्नेछु,' उनले भने।
उनले संसदमा सत्ता र प्रतिपक्ष सोचेर जान नहुने बताए। 'संसद भवनभित्र सत्तापक्ष र प्रतिपक्ष सोच्यो भने जनताको पक्षमा काम गर्न सकिँदैन। सरकारको राम्रो कामलाई सहयोग र नराम्रो कामलाई रचनात्मक ढंगले सुझाव दिनुपर्छ,' उनले भने।