— मकवानपुरको पहाडी बस्तीका असहाय, अपाङ्गता र वृद्धवृद्धाले दैलोमा नागरिकता उपलब्ध भएपछि खुसी व्यक्त गरेका छन् । जिल्लास्थित दुर्गम क्षेत्रका बासिन्दा नागरिकताबाट वञ्चित छन् । नागरिकताका लागि वडाबाट सिफारिस नपाउँदा सदरमुकाम नआउने उनीहरू दैलोमै सेवा पाएपछि दंग परेका हुन् ।
राक्सिराङ–९, लैवाङकी ६५ वर्षीया सुकुमाया चेपाङको हातमा मंगलबार नागरिकताको प्रमाणपत्र परेपछि खुसीले गदगद भइन् । सिफारिस लिन जाँदा कागज–पत्र नपुगेको भन्दै वडा कार्यालयले फर्काएपछि उनी घरमै बसेकी थिइन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नागरिकता दिने टोली गाउँमा आउँदै छ भनेर जानकारी गराएपछि आफू सेवा लिन आएको उनले बताइन् । नागरिकता नहुँदा अहिलेसम्म उनले मतदानसमेत गर्न पाएकी थिइनन् । गाउँपालिकाले ‘घरदैलोमा सेवा पाउने सबैको अधिकार’ रहेको भन्दै चैत ११ गतेदेखि बृहत् एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।
राक्सिराङ–९, डन्टारमा सोमबार आयोजित शिविरमा स्थानीय सुन्तलीमाया परियारले पनि नागरिकता बनाइन् । नागरिकता प्रमाणपत्रका लागि धेरैपटक जिल्ला प्रशासन धाए पनि बनाउन सकेकी थिइनन् । ८ सन्तानकी आमा ५० वर्षीया परियार एकल महिला हुन् । उनले सोमबार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको हातबाट गाउँमै नागरिकता प्रमाण प्राप्त गरिन् ।
‘अब एकल महिलाले पाउने भत्ता मिल्ने भयो,’ उनले भनिन् । गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन टोलीले सोमबार दुर्गम गाउँ पुगेर ३० जनालाई नागरिकताको प्रमाण–पत्र वितरण गर्नुका साथै एक हजार थान राष्ट्रिय परिचय–पत्र पनि वितरण गरेको थियो ।
विभिन्न मितिमा जिल्ला प्रशासन पुगेर फार्म भरेका स्थानीयको राष्ट्रिय परिचय–पत्र डन्टारमै प्रिन्ट गरेर वितरण गरिएको थियो । गाउँपालिकाले चैत ११ गते राक्सिराङ–१ मा शिविर सञ्चालन गरेको थियो । शिविरमा प्रधानमन्त्री रोजगार कार्यक्रम, महिला विकास कार्यक्रम, लघु उद्यम कार्यक्रम, एलोपेथिक स्वास्थ्य कार्यक्रम, बहुक्षेत्रीय पोषण योजना तेस्रो कार्यक्रम, आयुर्वेद स्वास्थ्य कार्यक्रम, पशु स्वास्थ्य र कृषि विकास कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीकरणको लागि निवेदन फारम भर्ने, वैदेशिक रोजगारसम्बन्धी परामर्श र एकीकृत रोजगार सेवासम्बन्धी जानकारी लगायतको सेवा दिइनेछ ।
शिविरमा महिला विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सम्मान, अपांगता परीक्षण एवम् परिचयपत्र वितरण, मनोसामाजिक परामर्श लगायतको सेवा उपलब्ध गराउने गरिएको छ । लघु उद्यम कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जना र भइरहेको उद्यमी छनोटसम्बन्धी जानकारी, निःशुल्क परामर्श, उसद्यमशीलता विकास तालिम, प्राविधिक सीप विकास, प्रविधि समूहमा हस्तान्तरण तथा प्रविधि पहुँचमा सहयोग, बजारीकरण सेवा र लघु वित्तीय सहयोग कार्यक्रम प्रदान गरिएको छ ।
एलोपेथिक स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, ब्लड प्रेसर, क्षयरोग, परिवार नियोजन (इन्प्लान्ट राख्ने र झिक्ने)सहित सबै रोगहरूको विशेषज्ञ डाक्टरद्वारा परीक्षणसहित औषधि उपचार र सर्ने तथा नसर्ने रोगको परामर्श सेवा दिइएको छ ।