— मध्यपूर्वमा जारी इरान–इजराइल–अमेरिका युद्धका कारण प्रभावितलाई लिएर कुवेत एयरवेजको चार्टड विमान बुधबार अपराह्न भैरहवा अवतरण गर्दैछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याककिशोर साहका अनुसार कुवेत सिटीबाट उडान भर्ने उक्त जहाज बुधबार ४ बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछ । बोइङ ७७७ (३००) सिरिजको लङ रेन्ज वाइड बडी चार्टड विमान ३ सयभन्दा बढी यात्रु लिएर आउन लागेको हो । उक्त जहाजमा रहेका सबै यात्रु भैरहवा ओर्लिनेछन् ।
विमानस्थलका अनुसार यहाँ यात्रु ओरालेर उक्त जहाज ६ बजेर १५ मिनेटमा पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नेछ । पाकिस्तानबाट कार्गो लिएर जहाज कुवेत फर्किने गौतमबुद्ध विमानस्थलले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले ठूला जहाजको चार्टड उडानकै कारण भैरहवा विमानस्थलको ‘प्रोफाइल’ तयार हुने बताए । यसअघि भैरहवाबाटै कतार एयरवेजको जहाजले एक जोडी गैंडा लगेको थियो । ‘विगतमा भएका सफल चार्टड उडानकै कारण यसपटक कुवेतको जहाज पनि भैरहवा आउन लागेको हो,’ उनले भने, ‘यहाँ सञ्चालन हुने नियमित र चार्टड उडानले विमानस्थलको प्रोफाइल बन्दै जान्छ ।’