— बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले विद्यार्थीलाई परीक्षा अवधिभर मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा उपलब्ध गराउने भएको छ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार प्रत्येक परीक्षा केन्द्रमा मनोसामाजिक तथा पारिवारिक परामर्शदाता खटाइने व्यवस्था मिलाइएको र यसका लागि स्थानीय तहलाई जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिए।
निर्देशक पोखरेलले परीक्षा अवधिभर परामर्शदाता र नर्सको उपस्थिति अनिवार्य गरिने स्पष्ट पार्दै विद्यालय नर्स कार्यरत भएका केन्द्रमा उनीहरू निरन्तर रहने र नर्स नभएका स्थानमा स्थानीय तहले वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए। साथै, विद्यार्थीको सङ्ख्या अनुसार प्राथमिक उपचार सामग्री, सेनेटरी प्याड लगायत आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न पनि विद्यालयलाई आग्रह गरिएको छ।
परीक्षाको निष्पक्षता कायम गर्न केन्द्रध्यक्ष बाहेक निरीक्षक, कर्मचारी तथा परीक्षार्थीले मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरण परीक्षा केन्द्रभित्र लैजान नपाउने निर्णय गरिएको छ।
चैत १९ गतेबाट सुरु हुने एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार ९ सय १० विद्यार्थी सहभागी हुँदैछन्। परीक्षामा ताप्लेजुङमा २ हजार ९, पाँचथरमा २ हजार ८ सय ४९, इलाममा ३ हजार ९ सय २६, झापामा १७ हजार ६ सय ८४, संखुवासभामा २ हजार ८ सय ४९, तेह्रथुममा १ हजार ५ सय ५४, धनकुटामा २ हजार ६ सय ३६, मोरङमा १८ हजार १ सय ३५, सुनसरीमा १३ हजार ९ सय ७८, खोटाङमा २ हजार ८ सय ५७, ओखलढुङ्गामा २ हजार २ सय १५ र उदयपुरमा ५ हजार ७ सय १० जना विद्यार्थी सहभागी हुनेछन्।
यसका लागि प्रदेशभर ३ सय ३२ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा सञ्चालनका लागि ३ सय ३२ केन्द्रध्यक्ष, ५ सय ४६ सहायक केन्द्रध्यक्ष, ४ सय ६३ निरीक्षक र ८ सय १३ परीक्षा सहायक परिचालन गरिनेछ। साथै, सुरक्षाका लागि ४ हजार ९ सय ८० सुरक्षाकर्मी सहित कुल १२ हजार ३ सय ४९ जनशक्ति खटाइने निर्देशनालयले जनाएको छ।