: दुई करोड ९३ लाख राजश्व हिनामिनाको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय नक्सालमा आर्थिक वर्ष २०७०÷७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित सो प्रकरणमा संलग्न कर्मचारीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिस्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि तीसँग सम्बन्धित राजस्व रसिदहरूको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको हो ।
यस्तै, केही लिखतबाट प्राप्त राजस्व रकम बैंक दाखिला गरिए पनि वास्तविक उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको देखिएको छ । आन्तरिक तथा अन्तिम लेखापरीक्षण समेत नगरी उक्त कार्य गरिएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अनुसार, उक्त आर्थिक वर्षमा करिब २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ । यस प्रकरणमा संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।