: पश्चिम तराईकै पर्यटकीय हबका रुपमा रहेको बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको लागि तस्बीर लिने कार्य अन्तिम चरणमा पुगेको छ । पुसको पहिलो सातापछि क्यामरा जडान गरी शुरु गरिएको तस्बीर लिने कार्य बर्दियामा सकेर बाँके राष्ट्रिय निकुञ्जमा सकिने क्रममा छ ।
बाघको अध्ययन अनुसन्धानसँगै यसको संख्यालगायत आहारा प्रजातिको घनत्व तथा बासस्थान मापन गरी दीगो संरक्षणका लागि प्रत्येक ५ बर्षमा बाघ गणना गरिन्छ । चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको तस्बीर लिने कार्य सकिएर तस्बीर अध्ययन–अनुसन्धान भरहेको छ । बर्दियाका तस्बीरहरु केन्द्रमा पुगिसकेका छन् । एकसाता पछि बाँकेमा पनि सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको तस्बीर लिने कार्य सकिएकाले दोस्रो चरणको कार्य भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए ।
अटोमेटिक क्यामरामार्फत ट्रापी (आर) बिधिबाट लिइएका बाघका तस्बीरहरुको फरक–फरक पाटा छुट्याएर बाघको संख्या यकिन गरिन्छ । उनले भने, ‘सबै ठाउँको गणना सकिएर फोटो अध्ययन–अनुसन्धानपछि जुलाई २९ अर्थात विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक हुन्छ । हामीले बाघका तस्बीरहरु लिएर पठाउँछौ त्यसलाई पाटा अनुसार गणना गर्ने र नतिजा सार्वजनिक गर्ने कार्य विभागबाटै हुन्छ ।’ अधिकृत तुम्बाहाङ्फेले थपे, ‘क्यामेरा लगाएर तस्बीर लिने समय ३ महिना भन्दा बढी लाग्यो । डेटा एनालाइसिस गरी गणनाको समय पनि उत्तिकै लाग्छ ।’
बाँके–बर्दिया कम्प्लेक्समा ६ वटा ब्लकमा बाघको तस्बीर लिने कार्य भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २ र दाङ क्षेत्रमा एउटा ब्लकमा क्यामेरा राखिएको थियो । बर्दियाको ३ वटा ब्लकका ४५५ ग्रिड, बाँके ब्लकमा ३४८ र दाङ ९८ गरी ९ सय १ ग्रिडमा प्रतिग्रिड २ वटा क्यामेराका दरले १८ सय २ वटा क्यामेरा बाघको तस्बीर लिन प्रयोग गरिएका थिए । बाँके राष्ट्रिय निकुञ्जमा केही दिन अघिदेखि चौथो ब्लकमा १९७ वटा क्यामेरा राखिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कणेलले बताए ।
चैत्र महिनाको अन्तिम सातासम्म बाँकेमा पनि तस्बीर लिने कार्य सकिन्छ । उनले भने तस्बीर लिन जडान गरिएका क्यामेरामध्ये २८ वटा क्यामेरामा क्षति पुगेको छ । २४ वटा क्यामेरा हराएको र ४ वटा क्यामेरा वन्यजन्तुबाट तोडफोड भएका छन् । बाँकेको कम्दीलगायतका वन क्षेत्रहरुमा अधिक क्यामेरामा क्ष्ािी पुगेको छ । बर्दियामा पनि बाघको तस्बीर लिने क्यामराहरुमा क्षति पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए ।
बर्दियामा ८ वटा क्यामेरा हराएको र ५ वटा क्यामेरामा वन्यजन्तुले क्षति पु¥याएका छन् । बाँके बर्दिया कम्प्लेक्समा ३१ वटा चोरी र ९ वटा टुटफुट गरी ४० वटा क्यामेरामा क्षति पुगेको छ । यस पटक बाँके–बर्दियालगायत नेपालमै पाटेबाघको संख्या बढ्ने अनुमाग गरिएको छ । पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ गरी नेपालमा ३५५ वटा पाटेबाघ रहेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको तस्बीर लिन जडान गरिएको अटोमेटिक क्यामेरा तस्बीर : यादव आचार्य