मुख्य समाचार
लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना जना पक्राउ
लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना जना पक्राउ

: विराटनगरमा लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाइरहेका ११ जना चालकलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।


विराटनगर महानगरपालिका–१५ हुलास चोकस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा गरिएको संयुक्त चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा चालकहरु फेला परेका थिए। पक्राउ पर्नेमा १० जना सिटी सफारी र एक जना मोटरसाइकलका चालक रहेका छन्।


विराटनगर महानगरपालिका–१७ का सारुड मियाँ, वडा नम्बर १६ का अमृत कामत, वडा नम्बर १५ का सुनील थापा, वडा नम्बर १३ का शंकर महतो, वडा नम्बर १० का मोहमद इन्तियाज, वडा नम्बर ८ का प्रमोद पासवान, वडा नम्बर ६ का शिवम साह, सुरज पासवान, राजेश राम, मोरङको कटहरी गाउँपालिका–२ का सुरेश मण्डल तथा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का मञ्जिल लिम्बू पक्राउ परेका हुन्। पक्राउ पर्नेमध्ये मञ्जिल लिम्बू मोटरसाइकल चालक हुन् भने अन्य सबै सिटी सफारी चालक रहेको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार प्रारम्भिक परीक्षणमै लागुऔषध सेवन पुष्टि भएकाले सबैलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी लागुऔषध सम्बन्धी कानुनअनुसार मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ। लापसे चेकजाँचका लागि स्वास्थ्यकर्मीसहित कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठ, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईलगायतका प्रहरी अधिकृतहरु खटिएका थिए।

सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन सुदृढ गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा धेरै चालकहरूको प्रारम्भिक परीक्षण गरिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए। उनका अनुसार परीक्षणका क्रममा ११ जनामा लागुऔषध सेवन पुष्टि भएपछि उनीहरूलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ।

कोशीका ट्राफिक प्रमुख एसपी गिरीका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरिएको छ। उनले यात्रुहरूको जीवन सुरक्षालाई ध्यानमा राख्दै यस्तो गतिविधि नियन्त्रण गर्न अभियान निरन्तर जारी रहने बताए।

‘चालकको लापरबाही, मदिरा सेवन र लागुऔषध सेवन सडक दुर्घटनाका प्रमुख कारण बन्दै गएका छन्,’ एसपी गिरीले भने, ‘यस्ता गतिविधि नियन्त्रण गर्न विशेष चेकजाँचलाई अझ कडा बनाइने छ।’ उनलेसबै चालक तथा यात्रुहरूलाई सडक सुरक्षा साझा जिम्मेवारी भएको भन्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत भाद्र २३ र २४ को आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरस्थित कारागार फुटाएर फरार भएका दुर्गाभगवती गाउँपालिका–५, वडहर्वाका २९ वर्षीय दिपेश साह सोनार (सेरु साह) लाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका ब्यक्ति भएको रौतहट ...
: धनुषामा एक ९ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा ९ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ५३ वर्षीय ओपेन्द्रसिंह दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए । ...
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढेसँगै नेपालमा सेलाइन (स्लाइन) उत्पादन गर्ने उद्योगहरू गम्भीर संकटमा परेका छन्।
: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले चैत २५ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। चैत २४ गते जिल्लास्तरीय भेला गरेर आन्दोलनलाई थप सशक्त बनाउने उनले बताए। त्यस्तै पालिका, जिल्ला हुँदै राजधानी केन्द्रित विरोध सभा पनि एमालेले गर्ने भएको छ। महासचिव पोखरेलका अनुसार ...
: नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताएका छन्। मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलामा उनीहरूले विशेष महाविधेशनको नेतृत्वले पार्टीको आन्तरिक विषयलाई संवेदनशील ढंगले लिन नसकेको भन्दै आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताए। पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहँदा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले ...