: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सरकारका पछिल्ला गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले मुलुक फेरि निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख हुन सक्ने आशंका प्रकट गरेका हुन्। उनले लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि हालतमा संकटमा पर्न नदिन सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ मोरङ शाखाले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले देशले ठूलो मूल्य चुकाएर प्राप्त गरेको लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने जुनसुकै प्रवृत्ति राष्ट्रका लागि हानिकारक हुने बताए।
उनले नेपाली जनताको लामो संघर्षबाट स्थापित राजनीतिक परिवर्तनलाई जोगाउनु सबै पक्षको साझा दायित्व भएको बताए। मन्त्री पराजुलीले विगतका उपलब्धिहरूलाई सुरक्षित राख्दै मुलुकलाई स्थायित्व, शान्ति र विधिको शासनतर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘हामीले लामो समयदेखि राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका छौँ। हजारौँको बलिदानबाट आएको यो व्यवस्थामा कुनै पनि प्रकारको संकट आउन नदिनु हाम्रो साझा जिम्मेवारी हो।’
उनले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती विगतका द्वन्द्वहरूको अन्त्य गर्नु र नयाँ द्वन्द्व सिर्जना हुन नदिनु भएको स्पष्ट पारे। उनका अनुसार देश अब संघर्षको चरणभन्दा बाहिर निस्केर संस्थागत स्थायित्व र विधिमा आधारित शासन प्रणाली सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ।
मन्त्री पराजुलीले पछिल्ला केही राजनीतिक घटनाक्रमले मुलुक सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने संशय पैदा गराएको बताए। उनले सरकारका गतिविधि र समग्र राजनीतिक वातावरणले फेरि निषेध र प्रतिशोधको राजनीति बलियो हुन सक्ने संकेत देखिएको भन्दै यस्तो प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक रहेको बताए।
उनले राजनीतिक प्रतिस्पर्धा स्वस्थ, पारदर्शी र लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्नेमा जोड दिए। प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने प्रयास देशका लागि घातक हुने चेतावनी दिँदै मन्त्री पराजुलीले भने, ‘फेरि मुलुकमा निषेधको राजनीति र द्वन्द्वको राजनीति सुरु हुन लागेको हो कि भन्ने आशंका उत्पन्न भएको छ। यस्तो अवस्था आउन नदिन सबै पक्ष सचेत हुनुपर्छ।’
पराजुलीले हालै गठन भएको सरकारप्रति जनताको अपेक्षा उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीलाई संस्थागत गर्ने दिशामा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए। उनले दुईतिहाइ नजिकको जनादेश प्राप्त सरकारले जनताको अधिकार सुदृढ गर्ने, कानुनी संरचना बलियो बनाउने र विकास तथा समृद्धिको आधार तयार गर्ने जिम्मेवारी वहन गर्नुपर्ने स्मरण गराए।
तर, पछिल्ला गतिविधिहरूले राजनीतिक वातावरण स्वस्थ दिशाबाट विचलित हुँदै निषेध र प्रतिशोधतर्फ जाने संकेत देखिएको उनले बताए। समयमै नियन्त्रण नभए देश फेरि अस्थिरताको चक्रमा फस्न सक्ने जोखिम रहेको उनको भनाइ थियो। उनले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। राज्य संयन्त्रलाई विधि र प्रणालीमा आधारित बनाइ पारदर्शिता, निष्पक्षता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न सके मात्र स्थायित्व सम्भव हुने उनको भनाइ थियो।
मन्त्री पराजुलीले लोकतान्त्रिक उपलब्धिहरूको संरक्षणका लागि राजनीतिक शक्ति, राज्य संयन्त्र, नागरिक समाज र सञ्चार क्षेत्रको साझा भूमिका अपरिहार्य रहेको उल्लेख गरे। उनले संवाद, सहकार्य र संस्थागत सुधारमार्फत मात्रै मुलुकलाई शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सकिने धारणा राखे। पराजुलीले संयम, जिम्मेवारी र दूरदृष्टिका साथ लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकलाई पुनः द्वन्द्वतर्फ जान नदिन सबै पक्षलाई आह्वान गरेका छन्।