: सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको अध्यक्षतामा कार्यदल गठन भएको छ। आइतबारको मन्त्रिपरिषद्ले संविधान बहस पत्र तयार गर्न कार्यदल बनाएको हो।
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले साहको नेतृत्वको कार्यदलले सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा बहस पत्र तयार गर्ने जानकारी दिए। पहिलो मन्त्रिपरिषदको बैठकमा पारित गरिएको सरकारका शासकीय सुधारका १०० कार्यसूचीमा पनि संविधान संशोधन बहस पत्र तयार गर्ने उल्लेख छ।
चैत १९ मा संसद् अधिवेशन
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत १९ का लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। संघीय संसद्को बैठक आगामी चैत १९ गते दिउँसो २ बजे बस्ने भएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले सरकारले यही चैत १९ गते बिहीबारका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। फागुन २१ मा भएको निर्वाचनपछि यो पहिलो संसद् अधिवेशन हो। फागुन २१ मा निर्वाचित प्रतिनिधिसभा सदस्यको गत चैत १२ गते शपथग्रहण भने भइसकेको छ।
अधिवेशन आह्वान भएसँगै केही दिनमा प्रतिनिधिसभाका सभामुख–उपसभामुखको निर्वाचन हुनेछ। त्यसैबीच आइतबार नै प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरू भेटघाट गरेका छन् । उनले प्रत्यक्षबाट निर्वाचित सांसद पहिलो चरणमा उनले भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले सांसदबाट सुझाव र समस्या लिएका छन्। प्रधानमन्त्री शाहले बोलाएको बैठक श्रम संस्कृति पार्टीले बहिष्कार गरेको थियो।