: नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता डिएसपी अनिल पन्डितका अनुसार सोमबार बिहान करिब ६:४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन्।
घाइते हुनेहरूमा ट्रक चालक रामेछाप, ठाडादेवी–४ का इन्द्र गुरुङ रहेका छन् । उनको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरी को भनाई छ । यसै गरि हात्तीगाडी चालक भरतपुर–१२, चितवनका दर्शन काप्रीको छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।त्यस्तै बस चालक नेपालगञ्ज–२०, बाँकेका मोहनसिंह बलामी मगरको दुवै खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। उनीहरू उपचारका लागि आफैं अस्पतालतर्फ लागेकाले प्रहरीले विस्तृत विवरण संकलन गरिरहेको बताएको छ । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी टोलीले दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी संचालनमा ल्याईएको प्रहरी प्रबक्ता पन्डितले बताए ।