: सरकारले मुलुकका सबैभन्दा उच्च पदस्थ राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन सुरु गरेको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वमन्त्रीहरू आरजु राणा, दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको हो। पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता खड्कालाई आइतबार प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिसकेको छ।
सम्पत्ति शुद्धीकरणको विभागको पत्रको आधारमा नेपाल प्रहरीले ‘हाइप्रोफाइल’ व्यक्ति र उनीहरूका परिवारको सम्पत्तिको अनुसन्धान सुरु गरेको हो। प्रचण्डकी छोरी गंगा दाहाल र आरजु राणाका भाइ भूषण राणाविरुद्ध पनि यही कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । देउवा पुत्र जयवीर देउवाको नाममा भएको सम्पत्तिको पनि खोजबिन भइरहेको स्रोतले बतायो।
गृह मन्त्रालय स्रोतकाअनुसार राजनीतिक दलका उच्च तहका नेता र कर्मचारी गरी २०० बढी व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि सरकारले सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ। विभागले ०४८ सालयता सत्तामा हालीमुहाली गरेका पूर्वशीर्ष नेता तथा उच्च पदस्थ कर्मचारीमाथि छानबिन गर्न प्रहरीलाई पत्र पठाएको छ।
छानबिन समिति नबन्दै अनुसन्धान
झन्डै दुईतिहाइ बहुमतसहित गठन भएको रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले शनिबार मात्रै शासकीय सुधारका १ सय कार्यसूची सार्वजनिक गरेको थियो। २०४८ सालयता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिकका पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति बनाउने कार्यसूचीमा उल्लेख छ। शासनमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने शासकीय सुधार कार्यसूचीमा उल्लेख छ। तर, समिति नबन्दै सरकारले ‘हाइप्रोफाइल’ व्यक्तिको चल अचल सम्पत्ति र आम्दानीको स्रोतबारे छानबिन सुरु गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले सरकारको पत्रका आधारमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। ‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको नाममा भएको सम्पूर्ण सम्पत्तिको आधिकारिक स्रोत देखिनुपर्छ,’ ठाकुरले भने, ‘क–कसलाई पक्राउ गर्ने, छानबिन गर्ने विषय अनुसन्धानको क्रममा भएकाले विस्तृतमा भन्न मिल्दैन।’ महानिर्देशक ठाकुरले केही उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन भइरहेको स्वीकार गरे। ‘थप जानकारी दिन मिल्दैन,’ उनले भने।
तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको विभाग स्रोतले बतायो। त्यसकै लागि विभागले प्रहरीलाई पत्र पठाएको थियो। विभागको पत्रको आधारमा प्रहरीले पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्डका साथै, देउवापत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा र पूर्वमन्त्री खड्का तथा उनीहरूका परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको हो।
सम्पत्ति शुद्धीकरण विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएको भन्दै तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको थियो। भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोडका बेला पूर्वप्रधानमन्त्री देउवा र दाहाल तथा पूर्वमन्त्री खड्काका घरमा जलेका नोटका टुक्रा भेटिएका थिए। यो विषयमा अनुसन्धान गर्नका लागि विभागले जलेका नोटको फरेन्सिक रिपोर्टसमेत माग गरेको छ।
नेताका घरमा अवैध नोट भेटिएको घटनामा प्रहरीले समेत छानबिन गरिरहेको छ। अनुसन्धानमा दायरामा भएको व्यक्तिहरूको आफन्त र नातागोताको नाममा भएको सम्पत्तिको विषयमा समेत छानबिन गरिने तयारी छ। उनीहरूका तीन पुस्ताभित्रका नातागोताको समेत सम्पत्ति, कारोबार, कम्पनी र सेयर विवरण पेस गर्न राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्राचार गरिएको छ। उनीहरूको चल–अचल सम्पत्तिको समेत खोजी भइरहेको छ।
२४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाललगायतका नेताका घरमा आगजनी गरेका थिए। बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए।
नेता तथा व्यापारीका घरमा भेटिएको पैसाको विषयमा नेपाल प्रहरीको सीआईबीले फरेन्सिक जाँच गरेको थियो। यो रिपोर्टका आधारमा पनि उनीहरूविरुद्ध अनुसन्धान अगाडि बढाइएको हो। विभिन्न कार्यालयबाट आवश्यक कागजात प्राप्त भएपछि आरोपीहरूसँग बयान लिने तयारी सीआईबीको छ। सुशीला कार्की नेतृत्वको सरकारले पनि उनीहरूविरुद्ध अनुसन्धान गर्ने तयारी गरेको थियो। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक नै हेरफेरसम्म गरेको थियो। तर, सफल भएको थिएन। फागुन २१ गतेको निर्वाचनमा अध्याधिक बहुमत प्राप्त गरेर बनेको बालेन्द्र शाह नेतृत्व सरकारले अनुसन्धान थालिएको छ।
०६३ पछि देउवा, ओली र प्रचण्डको हालीमुहाली
२०६२/६३ को आन्दोलनपछि निरन्तर सत्ता र शक्तिमा रहेका शीर्ष नेताहरूको सम्पत्तिमाथि सरकारले अनुसन्धान थालेको हो। प्रायः देउवा, ओली, प्रचण्ड आलोपालो गर्दै सत्ता र शक्तिमा हालीमुहाली गरेका थिए। उनीहरू र उनीहरूका आसपासका व्यक्तिले अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोप पनि लाग्दै आएको थियो। उनीहरूले बिचौलया, माफियाहरूलाई संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ । भ्रष्टाचारीलाई संरक्षण गरेको पनि उनीहरू माथि आरोप छ।
केपी ओली
केपी शर्मा ओली राजकीय सत्तामा लामो समयदेखि छन्। ०४८ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका ओली २०५१ सालमा गृहमन्त्री बनेका थिए। त्यस्तै २०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारमा ओली उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। त्यस्तै २०७२ असोज ३ गते संविधान बनेपछि ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए।
२०७३ साउन ९ सम्म गरी ९ महिना उनी पदमा बहाल रहे।
दोस्रोपटक ०७४ फागुन ३ मा प्रधानमन्त्री भएका थिए। दोस्रो कार्यकाल भने उनको तीन वर्षसम्म रह्यो। २०७८ वैशाख ३० गतेसम्म उनी प्रधानमन्त्री भए। ओली वैशाख ३० मा पुनः तेस्रोपटक प्रधानमन्त्री भए। अल्पमतको प्रधानमन्त्री रहेका ओली ०७८ असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त भएका थिए।
२०८१ असार ३० चौथोपटक ओली प्रधानमन्त्री भएका थिए। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पदच्युत भए। पटक–पटक प्रधानमन्त्री, मन्त्री, संसद हुँदा कमाएको सम्पत्तिमाथि सरकारले छानबिन थालेको हो। ओलीसँग गिरिबन्धु टी–स्टेट, यति होल्डिङस्लाई सस्तोमा जग्गा भाडालगायतका काण्डहरू जोडिने गरेका छन्। ओलीमाथि विवादित व्यापारीलाई प्र श्रय दिएको र सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप पनि लाग्दै आएको छ।
शेरबहादुर देउवा
कांग्रेसका पूर्वसभापति देउवा पटक–पटक प्रधानमन्त्री बने। नेपालकै इतिहासमा धेरैपटक प्रधानमन्त्री हुनेमा देउवा पर्छन्। देउवाको कार्यकालमा भ्रष्टाचारका ठूल्ठूला काण्ड सार्वजनिक भएका थिए। उनले पाँचपटक प्रधानमन्त्री र एक पटक गृहमन्त्री हुँदा कमाएको सम्पत्तिका विषयमा छानबिन थालिएको हो। देउवा र उनको परिवारका सदस्यहरूमा पनि अनुसन्धान भइरहेको छ। देउवा २०४८ सालमा पहिलोपटक गृहमन्त्री बनेका थिए।
०५२ भदौ २६ मा उनी पहिलोपटक प्रधानमन्त्री बने। ०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा संसदीय विकृति भिœयाएको आरोप लाग्ने गरेको छ। सांसद किनबेचदेखि सुत्केरी भत्ता, पजेरो गाडी सुविधालगायतका विवादास्पद निर्णय उनको पालामा भएका थिए। सरकार टिकाउन उनले ४८ जनाको जम्बो मन्त्रिपरिषद बनाएका थिए।
२०५३ फागुन २६ सम्म प्रधानमन्त्री रहे। पुन : ०५८ साउन ७ गतेदेखि ०५९ असोज १८ सम्म उनी दोस्रोपटक प्रधानमन्त्री भए। असोज १८ मा देउवालाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले ‘असक्षम’ भन्दै हटाएका थिए।
देउवा तेस्रोपटक ०६१ जेठ २१ गते प्रधानमन्त्री भए। ०६१ साल माघ १९ को काण्डबाट तत्कालीन राजा ज्ञानेन्द्रले बर्खास्त गरेका थिए। चौथोपटक २०७४ जेठ २४ मा उनी प्रधानमन्त्री बने। ०७४ फागुन ३ सम्म उनी पदमा बहाल रहे। पाँचौं पटक २०७८ असार २८ मा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बने।
पूर्वप्रधानमन्त्री देउवा २०४८ देखि निरन्तर सत्ता र शक्तिमा छन्। लाभको पद उपभोग गर्नेमा अग्रणी स्थानमा पर्छन्।
०४८ पछिका ८ वटा संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए। देउवा पत्नी आरजु राणा देउवा पनि तीनपटक कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन्। देउवा र पत्नी आरजु विभिन्न काण्डमा पनि मुछिएका थिए। परराष्ट्रमन्त्रीसमेत भइसकेकी आरजु नक्कली भुटानी शरणाार्थी काण्डमा जोडिएकी छिन् । देउवाका साला भूषण राणामाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ। उनी माथि अघिल्लै सरकारको पालामा अनुसन्धान थालिएको थियो।
जेन–जी आन्दोलनको समयमा देउवाको घरमा जलेको अवस्थामा भेटिएको भनिएका पैसाका विषयमा पनि अनुसन्धान थालिएको छ। भदौ २४ गते देउवाको घरमा आगजनी गरिएको थियो। आगजनीमा ठूलो परिणाम पैसा जलेका भन्दै सामाजिक सञ्जालमा विभिन्न भिडिओ सार्वजनिक भएका थिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०६४ सालपछि प्रचण्डको राजकीय सत्तामा हालीमुहाली छ। ०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेपछि पहिलोपटक प्रधानमन्त्री बने। सशस्त्र संघर्षबाट उदाएका प्रचण्ड पहिलोपटक ०६५ साउन ३१ देखि ०६६ जेठ २१ सम्म मुलुकको कार्यकारी प्रमुख बने। तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई गरेको बर्खास्तीको निर्णय तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले अनुमोदन नगरेपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
दोस्रोपटक ०७३ साउन २० देखि ०७४ जेठ २४ सम्म प्रचण्ड प्रधानमन्त्री बनेका थिए। पछिल्लोपटक २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए। ०८१ असार ३० मा संसद्मा विश्वासको मत पाउन नसेकपछि पदमुक्त भए। पूर्वप्रधानमन्त्री प्रचण्ड २०६२/६३ पछि संसदीय राजनीतिमा छन् । उनी तीनपटक प्रधानमन्त्री बनिसकेका छन्। शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुका लागि सरकारले दिएको भरणपोषण खर्च हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहाल पनि विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएकी छिन् ।
प्रचण्ड सत्तामा रहँदा सम्पूर्ण खटपटनको काम छोरी गंगाबाट हुने गरेको थियो। जेन–जी आन्दोलनका क्रममा प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित घरमा आगलागी हुँदा थुप्रै नगद भेटिएको स्रोतको भनाइ छ।
पूर्वमन्त्री खड्का पक्राउ, ७ दिनको अनुमति
जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा पक्राउ परेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान खड्कालाई पक्राउ गरेको थियो। खड्काको बयान कार्य सुरु भए पनि उनीविरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउनेसमेतका अनुसन्धानसम्बन्धी कार्यहरू बाँकी नै रहेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको बेहोरा मनासिव देखिएको जनाउँदै अदालतले आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति दिएको हो। कांग्रेस नेता खड्काको घरमा जेन–जी आन्दोलनका क्रममा रकम बरामद भएको थियो। घरमा जलेको अवस्थामा भेटिएको रकमका बारेमा विभागले यसअघि नै जलेका नोटका टुक्राहरू संकलन गरेर अनुसन्धान गरेको थियो।। खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग(सीआईबी)ले आइतबार बिहान पक्राउ गरेको थियो। गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
पूर्वमन्त्री खड्कामाथि मन्त्री र सांसद तथा व्यापारीका रूपमा रहँदा शंकास्पद कारोबार र गतिविधिमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ। ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेकोदेखि आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको पनि उनलाई आरोप लगाइने गरेको छ। नेपाल स्काउटको जग्गा दुरुपयोग गरेको लगायत विवादमा पनि खड्का मुछिएका छन्।