: राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तरी पारसी खाडीको महत्त्वपूर्ण इन्धन केन्द्र 'खार्ग टापु' कब्जा गर्ने विषयमा अझै विचार गरिरहेको बताएका छन् । साथै, त्यहाँ अमेरिकी सेना लामो समयसम्म बस्नुपर्ने हुन सक्ने उनको भनाई छ।
फाइनान्सियल टाइम्ससँग कुरा गर्दै ट्रम्पले भने, 'शायद हामी खार्ग टापु कब्जा गर्छौँ, शायद गर्दैनौँ। हामीसँग धेरै विकल्पहरू छन्। तर यसको अर्थ हामी त्यहाँ (खार्ग टापुमा) केही समयका लागि बस्नुपर्ने हुन्छ।'
इरानको ९० प्रतिशत तेल निर्यात हुने यो टापु लामो समयदेखि इरानी अर्थतन्त्रका लागि मेरुदण्ड मानिँदै आएको छ। अमेरिकी सेनाले यसअघि नै मार्च १३ मा खार्ग टापुमा आक्रमण गरिसकेको छ। सेन्ट्रल कमाण्डका अनुसार त्यसबेला नौसैनिक खानी भण्डारण केन्द्र, मिसाइल भण्डार बंकर र अन्य सैन्य अखडाहरू सहित ९० वटा लक्ष्यमा प्रहार गरिएको थियो।
सीएनएनको रिपोर्ट अनुसार, अमेरिकी अधिकारीहरूले खार्ग टापु कब्जा गर्ने वा त्यहाँको तेल पूर्वाधार पूर्ण रूपमा ध्वस्त पार्ने गरी बमबारी गर्ने विकल्पहरू तयार पारेका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार खार्ग टापु कब्जा गर्दा इरानको 'रिभोलुसनरी गार्ड'पूर्ण रूपमा टाट पल्टिनेछ, जसले युद्धलाई निर्णायक अन्त्यतर्फ लैजाने बाटो खोल्न सक्छ।
अर्कोतर्फ, सम्भावित अमेरिकी सैन्य कारबाहीको तयारीलाई मध्यनजर गर्दै इरानले पछिल्ला हप्ताहरूमा खार्ग टापुमा अतिरिक्त सैन्य जनशक्ति र हवाई प्रतिरक्षा प्रणाली परिचालन गर्नुका साथै विभिन्न 'पासो'हरू बिछ्याइरहेको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।