: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ।
सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो।
युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग भएको हो।
सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय विद्यार्थी संगठनका संरचना हटाउन लागेको हो।
शनिबार सार्वजनिक गरिएको शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूचीअनुसार दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने सरकारको तयारी छ।
हाल विद्यालय तथा विश्वविद्यालयहरूको नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलका विद्यार्थी संगठन क्रियाशील रहेका छन्।