— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो ।
आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरी दिएको छ ।'
बयान बाँकी नै रहेको आधार देखाउँदै अदालतले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।