— नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएको छ ।
डेली स्टार अनलाइनका अनुसार क्षेत्रीय सम्पर्क, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई देशबीच सहकार्य बिस्तार गर्ने विषयमा पहल गरिएको हो ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले राजधानी ढाकामा बंगलादेशकी नागरिक उड्डयन तथा पर्यटनमन्त्री अफरोजा खानम रिता र राज्य मन्त्री एम. रशिदुज्जमान मिल्लतसँग शिष्टाचार भेट गर्दै उक्त विमानस्थलमा नेपालले उडान गर्न चाहेको भन्दै चासो व्यक्त गरेका हुन् ।
त्यस अवसरमा दुवै पक्षले नेपाल–बंगलादेश सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन् । भेटमा नेपाली पक्षले नेपालको विमानन तथा पर्यटन क्षेत्रको विकासमा बंगलादेशको सहयोगको अपेक्षा राख्दै सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नुको महत्त्व औंल्याएको बताइएको छ ।
त्यसैगरी, ढाका–काठमाडौं मार्गमा हवाई भाडा उचित स्तरमा निर्धारण गर्ने विषयमा पनि बिस्तृत छलफल भएको जनाइएको छ । यसले यात्रु आवागमन सहज बनाउन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
दुवै पक्षले पर्यटन क्षेत्र बिस्तार तथा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक धारणा व्यक्त गर्दै भविष्यमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता गरेको बंगलादेशको डेली स्टारले अनलाइनमा लेखेको छ ।